म्यानमारमा नेपालीलाई साइबर दास बनाएको कसुरमा पाँच जना विरुद्ध मुद्दा
सहयात्रा टिभी
काठमाडौं । पुस २२, आईटीको काम भन्दै म्यानमार पुर्याएर नेपाली नागरिकलाई साइबर दास बनाएको घटनामा पाँच जनाविरुद्ध मुद्दा दायर भएको छ ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोको अनुसन्धान प्रतिवदेनको आधारमा पाँच जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मानव बेचबिखन तथा आसोरपसार अन्तर्गतको कसुरको मुद्दा दायर भएको हो ।
मुद्दा दायर गरिएका मध्ये दुई प्रतिवादी पक्राउ छन् । जसमा सर्लाहीको भर्दोल गाउँपालिका–९ का २४ वर्षीय रञ्जितकुमार महतो र खोटाङका ४१ वर्षीय मणिराज राई छन् ।
उनीहरु बोहक सर्लाहीकै राजनारायण महतो, रामेछापका हेमबहादुर श्रेष्ठ र धनकुटाका राजेश शर्मा भनिने भीमबहादुर गिरीविरुद्ध पनि मुद्दा दायर भएको छ । उनीहरू भने फरार प्रतिवादी छन् ।
पाँच जनाविरुद्ध दुई फरक जाहेरीको आधारमा मुद्दा दायर भएको हो । तर उनीहरुको कसुर भने एउटै प्रकृतिको छ । दुबैले नेपाली नागरिकलाई थाइल्याण्डमा आईटीको काम भन्दै म्यानमार लगेर बन्धक बनाउँदै साइबर स्कयामिङमा काम लगाएको आरोप छ ।
पछिल्लो पटक म्यानमारमा बन्धक बनाएर साइब स्लेभ (साइबर, डिजिटल दास) को रूपमा प्रयोग गरिएका ४७ नेपाली नागरिकको उद्धार गरी २३ मंसिरमा काठमाडौं ल्याइएको थियो ।
यसरी उद्धार गरिएका मध्येबाट दुई उजुरी ब्युरोमा दर्ता भएका थिए । ब्युरोका एसएसपी कृष्ण पंगेनीका अनुसार तिनै दुई जाहेरीका आधारमा अहिले पाँच जनाविरुद्ध मुद्दा चलाइएको हो ।


