साँखु बस दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो, ३३ घाइतेको उपचार जारी

सहयात्रा टिभी

काठमाडौं । पुस २४, काठमाडौंको जहरसिंहपौवा–साँखु सडकखण्डमा बुधबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । नेचर हाउस एन्ड हर्ब इन्टरनेशनल कम्पनीबाट पिकनिक गएर फर्किने क्रममा बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवन भट्टराईका अनुसार दुर्घटनामा घाइते भएका गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने ५५ वर्षीय अर्जुन लामिछानेको गएराति साढे १२ बजे उपचारका क्रममा मृत्यु भएको हो । लामिछानेको मृत्युसँगै यस दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ, जसमा तीन महिला र दुई पुरुष रहेका छन् ।

यसअघि दुर्घटनामा परी ज्यान गुमाउनेहरूमा बाँकेको कोहलपुर घर भई हाल बुढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङको पाथीभराकी ५१ वर्षीया इन्दिरा लिम्बु, सिराहा घर भई पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता र पाँचथर घर भई हाल गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बु रहेका छन् ।

दुर्घटनामा परेर घाइते भएका अन्य ३३ जनाको हाल विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पिकनिक मनाएर फर्किदै गरेको टोली सवार बस सडकबाट खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : 8 January, 2026

प्रतिक्रिया दिनुहोस्