सुनको मूल्यमा गिरावट: तोलामा २ हजारले घट्दा चाँदी पनि सस्तियो
सहयात्रा टिभी
काठमाडौं । पुस २४, नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको हो । यससँगै आजका लागि सुनको प्रतितोला मूल्य २ लाख ६५ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ, जबकि अघिल्लो दिन बुधबार यसको कारोबार २ लाख ६७ हजार ७ सय रुपैयाँमा भएको थियो ।

सुनको मूल्यमा केही कमी आए पनि यो अझै ऐतिहासिक उच्च विन्दुको आसपास नै रहेको देखिन्छ । यसअघि गत पुस १३ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको रेकर्ड छ ।
यस्तै, चाँदीको मूल्यमा पनि तोलामा १ सय रुपैयाँको गिरावट आएको छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला ४ हजार ९३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर ४ हजार ८३५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।


