अमेरिकामा सरकारी अधिकारीले गोली चलाउँदा एक महिलाको मृत्यु, चर्कियो विवाद

सहयात्रा टिभी

काठमाडौं । पुस २४, अमेरिकाको मिनेयापोलिस सहरमा एक अमेरिकी आप्रवासन एजेन्टले ३७ वर्षीया महिलालाई गोली हानी हत्या गरेपछि ट्रम्प प्रशासन र स्थानीय अधिकारीहरूबीच तीव्र विवाद सुरु भएको छ। ‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ (आईसीई) का एजेन्टले आत्मरक्षाका लागि गोली चलाएको दाबी गरे पनि स्थानीय अधिकारीहरूले त्यसलाई अस्वीकार गरेका छन्।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले मारिएकी महिला रेनी निकोल गुड एक “हिंस्रक दङ्गाकारी” भएको र उनले आईस (आईसीई)एजेन्टहरूलाई गाडीले किच्ने प्रयास गरेको आरोप लगाएको छ। तर, मिनेयापोलिसका मेयर ज्याकोब फ्रेले एजेन्टले शक्तिको लापरवाह प्रयोग गरेको भन्दै आईस अधिकारीहरूलाई तत्काल सहर छोड्न चेतावनी दिएका छन्।

के भएको थियो घटना?
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूका अनुसार बुधबार बिहान स्थानीय समय १०:२५ बजे एक आवासीय सडकमा गुडले चलाएको महुन रङको एसयूभी गाडीलाई संघीय एजेन्टहरूले रोक्न खोजेका थिए। एजेन्टहरूले उनलाई गाडीबाट बाहिर निस्कन भनिरहेको देखिन्छ। जब महिलाले गाडी अगाडि बढाउन खोजिन्, एक एजेन्टले सिधै विन्डशिल्ड (गाडीको अगाडिको सिसा) बाट गोली प्रहार गरेका थिए। गोली लागेपछि नियन्त्रण गुमाएको गाडी नजिकैको अर्को गाडीमा ठोक्किएको थियो।

यस घटनाका सम्बन्धमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रुथ सोसल’मा लेख्दै आईस अधिकारीमाथि निकै निर्दयी ढंगले गाडी चलाइएको र उनी अहिले अस्पतालमा उपचाररत रहेको बताएका छन्। ट्रम्पले यस घटनाका लागि “कट्टरपन्थी वामपन्थी” हरूलाई दोषी ठहराएका छन्।

स्थानीय नेतृत्वको आक्रोश
मिनेसोटाका गभर्नर टिम वाल्जले संघीय सरकारको दाबीलाई “प्रचारबाजी” भन्दै निष्पक्ष छानबिनको माग गरेका छन्। पूर्व उपराष्ट्रपति कमला ह्यारिसले ट्रम्प प्रशासनको भनाइलाई “भ्रामक” भन्दै आलोचना गरेकी छिन्।

मिनेयापोलिस सहर परिषद्ले एक विज्ञप्ति जारी गर्दै गुडले आफ्ना छिमेकीहरूको हेरचाह गरिरहेको अवस्थामा हत्या गरिएको दाबी गरेको छ। एक प्रत्यक्षदर्शीले सिएनएनलाई बताएअनुसार एजेन्टले नजिकैबाट सिधै ती महिलाको अनुहारमा गोली हानेका थिए।

तनावपूर्ण अवस्था र विद्यालय बन्द
यस घटनापछि मिनेयापोलिसमा ठूलो संख्यामा सर्वसाधारणले प्रदर्शन गरिरहेका छन्। सन् २०२० मा जर्ज फ्लोयडको हत्या भएको स्थान नजिकै यो घटना भएकाले स्थानीयमा थप आक्रोश देखिएको छ। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै मिनेयापोलिसका सार्वजनिक विद्यालयहरू यस हप्ताका लागि बन्द गरिएका छन्।

ट्रम्प प्रशासनले हालैका हप्ताहरूमा अवैध आप्रवासन र कल्याणकारी कोषमा भएको ठगी नियन्त्रण गर्ने भन्दै मिनेयापोलिसमा थप २,००० संघीय एजेन्टहरू परिचालन गरेको छ। विशेषगरी सोमाली समुदायलाई लक्षित गरी गरिएको यो कारबाहीको स्थानीय स्तरमा चर्को विरोध हुँदै आएको छ। एजेन्सीहरूको सहयोगमा घटनाको अनुसन्धान एफबीआईले गर्ने बताइएको छ।

प्रकाशित : 8 January, 2026

प्रतिक्रिया दिनुहोस्