राप्रपा अध्यक्ष लिङ्देन र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

सहयात्रा टिभी

काठमाडौं । पुस २४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बिहीबार बिहान भेटवार्ता भएको छ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको तयारीका सन्दर्भमा दुई नेताबीच संवाद भएको हो।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार भेटका क्रममा आसन्न निर्वाचनका साथै दुई दलबीचको आपसी सम्बन्ध र समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो। लामिछानेको हात्तिगौंडास्थित निवासमै पुगेका लिङ्देनले आगामी पुस २७ गते मनाइने पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको औपचारिक निमन्त्रणासमेत दिएका छन्।

राप्रपाले यस वर्ष पृथ्वी जयन्तीलाई विशेष समारोहका साथ राष्ट्रिय एकता दिवसको रूपमा मनाउने तयारी गरेको छ, जसमा सहभागी हुन लिङ्देनले लामिछानेलाई आग्रह गरेका हुन्। भेटका क्रममा निमन्त्रणाका साथै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका विषयमा समेत दुई नेताबीच संवाद भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष लिङ्देनले राजनीतिक दलका शीर्ष नेताहरूलाई निम्तो दिने क्रमलाई तीव्रता दिएका छन्। यसै सिलसिलामा उनले बुधबार राति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि उनको निवास गुन्डु पुगेर पृथ्वी जयन्तीको निमन्त्रणा दिएका थिए । निर्वाचन नजिकिँदै गर्दा भएको यो भेटघाटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित : 8 January, 2026

प्रतिक्रिया दिनुहोस्