थारू बस्तीमा माघीको चहलपहल

सहयात्रा टिभी

काठमाडौं । पुस २५, थारू बस्तीमा माघीपर्वको चहलपहल शुरु भएको छ । नयाँ वर्षको रूपमा लिइने माघीले थारू बस्तीमा रौनक बढाएको छ । थारू गाउँमा यतिबेला माघीको रौनक र चहलपहल बढेको बाँके राप्ती सोनारी गाउँपालिका–३ बैजापुर निवासी थारू अगुवा तुलसीराम थारूले बताए ।

‘माघीका अवसरमा नाचिने माघीनाच, छोक्रा, हुर्दुग्वा, लठहवालगायतका नाच थारू गाउँमा शुरु भएका छन्,’ थारूले भने, ‘गाउँगाउँमा नाचसँगै माघीको चहलपहल शुरु भएको छ । माघीकै अवसरमा घरघरमा नाचगान गरेर दक्षिणासमेत उठाउने चलन छ ।’

थारू समुदायमा माघीलाई विशेष महत्वका साथ हेरिन्छ । माघीदेखि नै समुदायमा नयाँ कामको र नयाँ व्यवस्था लागू हुने भएकाले यसलाई विशेष रूपमा हेरिने गरेको बाँके बैजनाथका थारू अगुवा चन्द्रबहादुर चौधरीले बताए । माघीलाई थारू समुदायमा आआफ्नै तरिकाले मनाउने तर नीति व्यवस्था र गाउँ सञ्चालन प्रक्रिया भने एक वर्षलाई एउटै प्रकृतिको हुने हुँदा यसले रोचकता बढाएको चौधरीले बताए । ‘माघी आएसँगै थारूगाउँमा माघीको रौनक र चहलपहल छुट्टै बढेको छ,’ थारू अगुवा चौधरीले भने, ‘नयाँ पुस्तामा संस्कृतिको संरक्षण र परिस्कृत गर्ने सोच पनि पलाएको छ ।’

माघी थारू समुदायको चाडमात्र नभएर यस अवसरमा नयाँ रीतिथिति, नयाँ अगुवा (मतहवा, भल्मन्सा, मतहवा, बरघर) चुन्ने र नीतिनियम निर्माण गर्ने पर्वका रूपमा रहेको चौधरीको भनाइ छ । पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा थारू समुदायको बाक्लो बस्ती रहेकाले पनि माघीको यी जिल्लाहरूमा अझ विशेष महत्वकासाथ मनाउने परम्परा छ ।

गाउँको अगुवा कन्दारदेखि चौकीदारसम्म चुनिने, वर्षभरिका लागि कसलाई के जिम्मेवारी दिने, घरको मूली को बन्ने ? लेनदेन घर सल्लाहलगायत विषयमा छलफल हुने भएकाले यसलाई नयाँ आर्थिक वर्षका रूपमा पनि थारू समुदायले लिने गरेको राप्ती सोनारी–३ का जननिर्वाचित वडाध्यक्ष मीनकुमार थारूले बताए ।

‘थारू समुदायमा विशेष गरेर पुसको अन्तिम दिनदेखि माघीको प्रभाव देखिने गर्दछ । अहिले थारू गाउँगाउँमा रातभर आगो बाल्ने चलनअनुसार दाउरा सङ्कलन, पिसान कुटान, रङरोगन, जाँड बनाउने ढिक्री पकाउने तथा खानाका अन्य प्रकार निर्माण पूरा गरिएको छ,’ उनले भने, ‘माघीकै अवसरमा विभिन्न ठाउँमा मेला महोत्सवकोसमेत आयोजना हुने गर्दछन् ।’

उनका अनुसार थारू समुदायमा माघ १ गतेको अघिल्लो दिन रातभरि आगोको धुनी बालेर ताप्ने गर्दछन् । गाउँभरिका मानिस एकठाउँमा जम्मा भएर गाउँको एक ठाउँमा आगो बाली रातभर आगो तापेर रमाइलो गर्दछन् । राति आगो ताप्ने, भाले बासेसँगै नदी, खोलामा नुहाउने गर्दछन् ।

नुहाएर आफूभन्दा ठूलासँग आशीर्वाद लिने र सानालाई स्नेह गर्ने चलन छ । माघ २ गते गाउँको भेला बोलाएर अगुवा छान्ने र नीतिनियम बनाउने चलन छ । त्यसपछि केही दिन नाचगान गरेर पर्व मनाउने चलन छ । माघीकै अवसरमा नाचिने माघीनाच, छोक्रा, हुर्दुग्वा, लठहवालगायतका नाच नाचिने गरिन्छ । माघी पर्वसँगै थारू संस्कृति संरक्षण र रमाइलोको लागि मगौटा नाच गान शुरु भएको बाँके राप्ती सोनारी–२ कचनापुरका रामदास थारूले जानकारी दिए ।

 

प्रकाशित : 9 January, 2026

प्रतिक्रिया दिनुहोस्