कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा स्थगित
सहयात्रा टिभी
काठमाडौं । पुस २६,नेपाली कांग्रेसको विशेष महाधिवेशनको माग गर्दै आएको समूहले आजका लागि तय गरेको पदयात्रा कार्यक्रम स्थगित गरेको छ। पार्टीका नेता, पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनप्रति शोक व्यक्त गर्दै आज दिउँसो १ बजे भृकुटीमण्डपबाट सुरु हुने भनिएको पदयात्रा रोकिएको हो।

विशेष महाधिवेशनको प्रचारप्रसारका लागि आयोजना गरिएको उक्त पदयात्रा कार्यक्रम सुरु हुनुअघि आयोजित पत्रकारसँगको अन्तरक्रियामा आयोजकहरूले पदयात्रा स्थगितको जानकारी दिएका हुन्। सो अवसरमा दिवंगत दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकको घडीमा कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय भएको सहभागीहरूले बताए।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी २७ र २८ गतेका लागि विशेष महाधिवेशन आह्वान गरेका छन्। सोही महाधिवेशनको पूर्वसन्ध्यामा माहोल बनाउन आजको पदयात्रा तय गरिएको थियो। थप कार्यक्रमहरूका बारेमा आयोजक पक्षले पछि जानकारी गराउने बताएको छ।


