प्रशान्त तामाङकी पत्नीले भनिन ‘उहाँको निद्रामा नै प्राकृतिक मृत्यु भएको हो’

सहयात्रा टिभी

काठमाडौं । पुस २८, लोकप्रिय गायन रियालिटी शो ‘इन्डियन आइडल–३’ जितेर चर्चामा आएका गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार निधन भएको छ । उनकी पत्नी मार्था एलेले तामाङको मृत्यु प्राकृतिक कारणले भएको र उनी निद्रामा नै संसारबाट बिदा भएको बताएकी छन् ।

भारतीय सञ्चार माध्यम एएनआईसँग कुरा गर्दै मार्था एलेले यस्तो बताएकी हुन् । उनले तामाङको निधनपछि विश्वभरबाट आएको समर्थन र समवेदनाप्रति आभार व्यक्त गरिन् । “सबैलाई धन्यवाद । संसारभरबाट फोन आइरहेका छन् । चिनेजानेका मात्र होइन, नचिनेका मानिसहरूले पनि फूल पठाइरहेका छन् । मानिसहरू घरबाहिर उभिएका छन, अस्पतालमा अन्तिम दर्शनका लागि आएका छन,” उनले भनिन् । प्रशान्त तामाङप्रति जनताबाट आएको माया र भावनात्मक प्रतिक्रिया आफूहरुका लागि अत्यन्तै भावुक बनाउने खालको रहेको उल्लेख गर्दै उनले थपिन, “कृपया उहाँलाई पहिलेझैँ माया गरिरहनुहोस् । उहाँ एक महान आत्मा र असल मानिस हुनुहुन्थ्यो । त्यही रूपमा उहाँलाई सम्झिरहनुहोला ।”

अचानक कम उमेरमै निधन भएको विषयमा उठिरहेका अड्कलबाजीप्रति स्पष्ट पार्दै मार्था एलेले कुनै पनि शंकास्पद अवस्था नरहेको बाएकी हुन् । “यो प्राकृतिक मृत्यु हो । उहाँ निद्रामा नै हामीबाट टाढा हुनुभयो । म त्यही बेला उहाँकै छेउमा थिएँ,” उनले भनिन् ।

यसैबीच, दक्षिण–पश्चिम दिल्लीका एडीसीपी अभिमन्यु पोस्वालले मृत्युबारे आधिकारिक जानकारी दिँदै अन्तिम पोस्टमार्टम रिपोर्ट नआएसम्म कुनै पनि शंकास्पद पक्ष औँल्याउन गाह्रो हुने बताएका छन् । उनका अनुसार आइतबार दिउँसो ३ः१० बजे माता चानन देवी अस्पतालबाट मेडिकल लिगल केस (एमएलसी) प्राप्त भएको थियो, जसमा रघुनगरका बासिन्दा प्रशान्त तामाङलाई अस्पताल ल्याउँदा मृत घोषणा गरिएको उल्लेख छ । घटनापछि अपराध अनुसन्धान टोली र फरेन्सिक विज्ञान प्रयोगशाला (एफएसएल) टोलीले मृतकको निवासमा पुगेर प्रमाण संकलन गरेको र शव पोस्टमार्टमका लागि दीनदयाल उपाध्याय (डीडीयू) अस्पताल पठाइएको छ । तामाङ पत्नी र छोरीसँगै बस्दै आएका थिए र पत्नीले नै उनलाई अस्पताल पु¥याएकी थिइन् । उनको बयानसमेत लिइसकिएको प्रहरीले जनाएको छ ।

सन् १९८३ जनवरी ४ मा दार्जिलिङको टुङ्सुङमा जन्मिएका प्रशान्त तामाङले औपचारिक संगीत शिक्षा नलिए पनि पश्चिम बंगाल प्रहरीको पुलिस अर्खेस्ट्रामार्फत आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पाएका थिए । ‘इन्डियन आइडल’ जितेपछि उनले गायनसँगै अभिनय क्षेत्रमा पनि पाइला चाल्दै नेपाली सुपरहिट फिल्म ‘गोर्खा पल्टन’ सहित दर्जनौँ फिल्ममा अभिनय गरेका थिए ।

प्रकाशित : 12 January, 2026

प्रतिक्रिया दिनुहोस्