आयोगको निर्णयविरुद्ध देउवा पक्षीय नेताहरु सर्वोच्च जाँदै

सहयात्रा टिभी

काठमाडौं । माघ २, नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षीय नेताहरु निर्वाचन आयोगको निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालत जाने भएका छन् । निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता विशेष महाधिवेशनबाट निर्वाचिन गगन थापाको समूहलाई दिएपछि देउवा पक्षधर नेताहरु सर्वोच्च जाने भएको हो ।

शनिबार देउवा पक्षका नेताहरुको पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले आयोगले गरेको निर्णयविरुद्ध संवैधानिक एवं कानूनी उपचार तथा राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको नेता डा.प्रकाशशरण महतले जानकारी दिए । उनले आयोगको निर्णयविरुद्ध आइतवार सर्वोच्च अदालतमा रिट निवेदन दिने बताए । उनले आयोगले आफूहरुको कुरा समेत नसुनीकन एकपक्षीय ढंगले निर्णय गरेको आरोप लगाए ।

विशेष महाधिवेशनको नाममा गरिएको भेलाको औचित्य, वैधानिकता, उपस्थित संख्या समेत आयोगले नहेरिकन दूषित मनसायले आयोगले निर्णय गरेको उनको दाबी छ । कांग्रेसलाई क्षति पुर्‍याउने गरी आयोगले गरेको निर्णय आफूहरुलाई अमान्य भएको उनले बताए । उनले कांग्रेसको विधान र निर्वाचन सम्बन्धी कानूनलाई पनि ख्याल नगरेर आयोगले अन्यायपूर्ण दूषित मनसायबाट निर्णय गरेको उल्लेख गरे । यसविरुद्ध अदालत जाने र अदातलले आफूहरुलाई न्याय गर्ने उनले विश्वास व्यक्त गरे ।

प्रकाशित : 17 January, 2026

प्रतिक्रिया दिनुहोस्