महिला टी-२० विश्वकप ग्लोबल छनोट : उद्घाटन खेलमा नेपाल र थाइल्याण्ड भिड्दै

सहयात्रा टिभी

काठमाडौं । माघ ४, नेपालको खेलकुद इतिहासमा पहिलो पटक आयोजना हुन लागेको ठूलो प्रतियोगिता, ‘आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट’ आज (आइतबार) देखि सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा आयोजक नेपालले बलियो प्रतिद्वन्द्वी थाइल्याण्डको सामना गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ।

खेल आज बिहान ९ बजेदेखि सुरु हुने कार्यतालिका रहेको छ।

नेपालको लक्ष्य: ‘सुपर सिक्स’
प्रतियोगिताको पूर्वसन्ध्यामा शनिबार नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीकी कप्तान इन्दु वर्माले टोलीको तयारी र लक्ष्यबारे जानकारी दिनुभयो। कप्तान वर्माका अनुसार यसपटक नेपाली टोलीले ब्याटिङ र फिल्डिङमा निकै सुधार गरेको छ। घरेलु मैदान र दर्शकको साथलाई आफ्नो अनुकूलतामा प्रयोग गर्दै नेपालले कम्तीमा ‘सुपर सिक्स’ सम्म पुग्ने लक्ष्य राखेको छ।

“हामीले नेदरल्याण्ड्स, थाइल्याण्ड र अमेरिकासँग खेलेको अभ्यास खेलबाट धेरै कुरा सिकेका छौँ। बलिया टोलीहरूलाई कसरी दबाबमा राख्ने र खेल आफ्नो पक्षमा पार्ने भन्नेमा हामी स्पष्ट छौँ,” कप्तान वर्माले भनिन् । उनले यो स्तरको प्रतियोगिता नेपालमा हुनु नयाँ पुस्ताका महिला खेलाडीका लागि ठूलो अवसर भएको समेत बताइन्।

विश्वकपमा छनोट हुने दाउका साथ सुरु हुन लागेको यस प्रतियोगितामा कुल १० देशले प्रतिस्पर्धा गर्दैछन्। सहभागी हुने टोलीहरूमा आयोजक नेपालसहित थाइल्याण्ड, स्कटल्याण्ड, अमेरिका, जिम्बावे, नामिबिया, बाङ्लादेश, आयरल्याण्ड, पपुवानिउगिनी र नेदरल्याण्ड्स रहेका छन्।

नामिबिया र अमेरिकाका कप्तानहरूले पनि अभ्यास खेलका कारण नेपालको पिच र मैदानको अवस्था बुझ्न सहज भएको भन्दै आफ्नो टोली उत्कृष्ट प्रदर्शनका लागि तयार रहेको बताएका छन्।

नेपाली महिला क्रिकेटको विकासका लागि कोशेढुङ्गा मानिएको यो प्रतियोगिताले घरेलु मैदानमा नेपाली चेलीहरूको क्षमता प्रदर्शन गर्ने ठूलो मञ्च प्रदान गरेको छ।

प्रकाशित : 18 January, 2026

प्रतिक्रिया दिनुहोस्