काठमाडौं-५ मा रास्वपाबाट सस्मित पोखरेल उम्मेदवार, आसिफ रोकिए

सहयात्रा टिभी

काठमाडौं । माघ ६, आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं क्षेत्र नम्बर ५ मा सस्मित पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको सचिवालयमा कार्यरत पोखरेल मेयर साहकै ‘कोटा’ बाट चुनावी मैदानमा उत्रिएका हुन्।

यसअघि यो क्षेत्रमा बालेनकै टिमका अर्का सदस्य आसिफ साहको बलियो दाबेदारी रहेको थियो। रास्वपाले सुरुमा साहलाई समानुपातिकतर्फ मुस्लिम पुरुष क्लस्टरको पहिलो नम्बरमा राखेको थियो। तर, समानुपातिकमा बसेको भन्दै आलोचना भएपछि उनले बन्दसूचीबाट नाम फिर्ता लिएर काठमाडौं-५ बाटै प्रत्यक्ष निर्वाचन लड्ने घोषणा सामाजिक सञ्जालमार्फत गरेका थिए। तर, अन्तिम समयमा उनले प्रत्यक्षतर्फ पनि टिकट पाउन सकेनन्।

बालेन साह र राष्ट्रिय स्वतन्त्र पार्टीबीच राजनीतिक समन्वय गराउन आसिफ साहले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। तर, बालेनकै सचिवालयमा रहेका सस्मित पोखरेलले सोही क्षेत्रमा दाबी गरेपछि अन्ततः साह रोकिएका हुन्।

काठमाडौं क्षेत्र नम्बर ५ कै स्थायी बासिन्दा रहेका पोखरेललाई रास्वपाले सह-प्रवक्ताको जिम्मेवारी समेत दिने सहमति भएको छ। निर्वाचनमा होमिने निर्णयसँगै पोखरेलले मेयर बालेनको सचिवालयबाट राजीनामा दिइसकेका छन्।

स्थानीय तहको निर्वाचनमा बालेन साहलाई जिताउन सक्रिय रहेका पोखरेल अब आफैं सोही क्षेत्रको जनमत बटुल्न घरदैलोमा पुग्ने तयारीमा छन्। उनको उम्मेदवारीले काठमाडौं-५ को चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।

प्रकाशित : 20 January, 2026

प्रतिक्रिया दिनुहोस्