सुनको मूल्यमा ऐतिहासिक उछाल : एकैदिन १० हजार ४ सयले बढ्यो

सहयात्रा टिभी

काठमाडौं । माघ ७, नेपाली बजारमा सुनको मूल्यले बुधबार नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ एकैदिन प्रतितोला १० हजार ४ सय रुपैयाँले वृद्धि भएको छ।

महासंघले यस दिनका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ तोकेको छ। यो मूल्य नेपाली सुन बजारको इतिहासमै हालसम्मकै उच्च हो। यसअघि मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको तीव्र वृद्धिका कारण नेपाली बजारमा प्रत्यक्ष प्रभाव परेको व्यवसायीहरूले बताएका छन्। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ४ हजार ८ सय ५० अमेरिकी डलर नाघेको छ, जसको असरले स्थानीय बजारमा पनि मूल्य आकासिएको हो।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ४० रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला ५ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ५ हजार ९ सय २० रुपैयाँ पुगेको छ।

पछिल्लो समय विश्व बजारमा देखिएको आर्थिक उतारचढावका कारण सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षण बढ्दा यसको मूल्यमा लगातार चाप परिरहेको विश्लेषण गरिएको छ।

प्रकाशित : 21 January, 2026

प्रतिक्रिया दिनुहोस्