‘गजिनी’ का चर्चित खलनायक प्रदीप रावत ‘आ बाट आमा’ को प्रचारका लागि नेपालमा
सहयात्रा टिभी
काठमाडौं । माघ ७, बलिउडको ब्लकबस्टर फिल्म ‘गजिनी’ मा प्रभावशाली खलनायकको भूमिका निभाएर विश्वभर चिनिएका भारतीय अभिनेता प्रदीप रावत नेपाल आइपुगेका छन्। आफू अभिनित दोस्रो नेपाली चलचित्र ‘आ बाट आमा’ को प्रचारप्रसारका लागि उनी मंगलबार बेलुका काठमाडौँ ओर्लिएका हुन्।

माघ १६ गतेदेखि देशभर प्रदर्शनको तयारीमा रहेको यस चलचित्रको बुधबार दिउँसो ट्रेलर सार्वजनिक गरिँदैछ। उक्त समारोहमा सहभागी हुन र चलचित्रको प्रवर्द्धन गर्न उनी एक साताअघि नै नेपाल आएका हुन्। यसअघि उनले नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’ मा अभिनय गरेका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै रावतले नेपाली चलचित्रमा पुनः काम गर्न पाएकोमा खुसी व्यक्त गरे। “भारतीय चलचित्रमा मलाई प्रायः खलनायककै रूपमा चिनिन्छ, तर ‘आ बाट आमा’ मा निर्देशकले मलाई विल्कुलै फरक र विशेष भूमिकामा प्रस्तुत गर्नुभएको छ,” उनले भने।
नेपालप्रतिको आफ्नो आत्मीयता प्रकट गर्दै उनले थपे, “मलाई नेपाल आउँदा आफ्नै घरमा आएको जस्तो महसुस हुन्छ। हिन्दुस्तान र नेपालका आमाहरू एउटै हुन्। पशुपतिनाथ हाम्रो पनि इष्ट देउता हुनुहुन्छ। हामी एउटै रगतका हौँ, मात्र सिमानाले दुई देश बनेका हौँ।”
विमानस्थलमा उनलाई चलचित्रकी सह-अभिनेत्री विपना थापा लगायतको टोलीले भव्य स्वागत गरेको थियो। चन्द्र पन्तको निर्देशनमा बनेको यो चलचित्रको छायांकनका क्रममा रावतले नेपालका विभिन्न स्थानमा महिनौँ समय बिताएका थिए। यसपटक पनि फिल्म रिलिजको पूर्वसन्ध्यामा उनी लामै समय काठमाडौँमा बसेर प्रवर्द्धनमा जुट्नेछन्।


