विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरी देशभर श्रीपञ्चमी मनाइँदै
सहयात्रा टिभी
काठमाडौं । माघ ९, विद्या, बुद्धि, कला र संगीतकी अधिष्ठात्री देवी सरस्वतीको पूजा-आराधना गरी आज देशभर श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी पर्व मनाइँदै छ । सरस्वती प्रकट भएको दिन अर्थात् सरस्वती जयन्तीको अवसरमा बिहानैदेखि विभिन्न सरस्वती मन्दिरहरूमा दर्शनार्थी र भक्तजनहरूको उल्लासमय उपस्थिति रहेको छ ।

उपत्यकाका प्रमुख सरस्वती मन्दिरहरूमा बिहानैदेखि चहलपहल बढेको छ । ललितपुरको लेलेस्थित सरस्वती कुण्ड, भक्तपुर थिमीको सरस्वतीखेल, विशालनगरको नील सरस्वती, आर्यघाटस्थित सरस्वती मन्दिरका साथै मैतीदेवी र स्वयम्भूलगायतका मन्दिरहरूमा पूजा गर्नेहरूको भिड लागेको छ ।
यसै विशेष अवसरमा आज बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा राष्ट्रपतिबाट वसन्त श्रवण गर्ने कार्यक्रम छ । वसन्त श्रवणको यस परम्परागत समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री लगायत राज्यका उच्च पदस्थ व्यक्तित्वहरूको समेत सहभागिता रहने प्रचलन छ ।
वैदिककालदेखि नै विद्या र संगीतको उन्नयनसँग गाँसिएको यस मौलिक पर्वलाई बालबालिकाको शिक्षारम्भ गर्ने महत्वपूर्ण दिनका रूपमा लिइन्छ । आजकै दिन साना बालबालिकाहरूलाई अक्षर आरम्भ गराउने तथा शिशुहरूको नाक र कान छेडाउने सामाजिक परम्परा समेत रहिआएको छ । देशभरका विद्यालयहरूले पनि आज सरस्वती पूजाको विशेष कार्यक्रम आयोजना गरेका छन् ।
ज्ञानको स्रोत मानिने पुस्तक, कलमका साथै संगीतका वाद्ययन्त्र र रङ्ग-कलाका साधनहरूलाई सरस्वतीकै स्वरूप मानेर पूजा गर्ने परम्परा छ । संगीत प्रशिक्षणको सुरुवात गर्नका लागि पनि आजको दिनलाई अत्यन्त शुभ मानिन्छ । ज्ञान र विवेकको कामना गर्दै मनाइने यो पर्वले कला र शिक्षाको महत्वलाई समाजमा उजागर गर्दै आएको छ ।


