प्रतिनिधिसभा निर्वाचन : उम्मेदवारले आज निर्वाचन चिह्न पाउँदै, यस्तो छ निर्वाचन कार्यतालिका

सहयात्रा टिभी

काठमाडौं । माघ ९, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूले आज आफ्नो आधिकारिक निर्वाचन चिह्न प्राप्त गर्दैछन् । निर्वाचन आयोगको निर्धारित कार्यतालिका अनुसार उम्मेदवारी फिर्ता लिने प्रक्रिया सम्पन्न भएलगत्तै उम्मेदवारहरूलाई चिह्न प्रदान गर्न लागिएको हो ।

निर्वाचन तालिका अनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारहरूलाई आफ्नो उम्मेदवारी फिर्ता लिने समय दिइएको छ । सो प्रक्रिया सकिएपछि दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ । अन्तिम नामावली सार्वजनिक भएपछि आजै अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्ममा सबै उम्मेदवारहरूलाई निर्वाचन चिह्न वितरण गर्ने आयोगको तयारी छ ।

यसअघि गत माघ ६ गते देशैभरका १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको निर्वाचनका लागि उम्मेदवारी दर्ता गरिएको थियो । माघ ७ गते दर्ता भएका उम्मेदवारीमाथि दाबी–विरोध र उजुरी दिने समय तोकिएको थियो भने बिहीबार मनोनयनपत्र तथा उजुरीउपर आवश्यक जाँचबुझ गरी उम्मेदवारहरूको नामावली प्रकाशन गरिएको थियो ।

देशभरका १६५ निर्वाचन क्षेत्रमा कुल ३ हजार ४८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा ३ हजार ८९ पुरुष, ३९६ महिला र अन्य १ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

नेपालको संवैधानिक व्यवस्था अनुसार कुल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना सदस्य निर्वाचित हुनेछन् । आज निर्वाचन चिह्न वितरण भएसँगै उम्मेदवारहरू औपचारिक रूपमा चुनावी प्रचारप्रसारमा लाग्नेछन् ।

प्रकाशित : 23 January, 2026

प्रतिक्रिया दिनुहोस्