निर्वाचन आयोगमा हर्क साम्पाङविरुद्ध उजुरी

सहयात्रा टिभी

काठमाडौं । माघ १२, सुनसरी-१ का उम्मेदवार हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले चुनावी प्रचारप्रचारमा बालबालिकाको प्रयोग गरेको आरोपमा उजुरी परेको हो ।

उनीविरुद्ध धरान नगर बाल सञ्जालले जिल्ला प्रहरी कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।

उजुरीमा बालबालिका ऐन, २०७५ को परिच्छेद २, दफा ७ को उपदफा ९७० अनुसार बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका निम्ति प्रयोग गर्न नपाइने व्यवस्था रहेको तर उम्मेदवार त्यसविरुद्ध गएको उल्लेख गरिएको छ ।

सञ्जालले साम्पाङलाई निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित गराइ यसबारे छलफल गर्न र आचारसंहिता उल्लंघन गर्दा हुने कारबाही गर्न पनि माग गरेको छ ।

निर्वाचन अधिकृत दिव्यराज घिमिरेले प्रमुख निर्वाचन अधिकृतको संयोजकत्वमा उजुरी अध्ययन समिति बनेको र उक्त समितिले अध्ययन गरी कारबाहीको प्रक्रिया अघि बढाउने बताए ।

ऐनमा बालबालिकाको प्रयोग गरेको प्रमाणित भए एक लाख रुपैयाँसम्मको जरिवाना र उम्मेदवारी दर्ता नै खारेज हुनसक्ने उल्लेख छ । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।

 

 

प्रकाशित : 26 January, 2026

प्रतिक्रिया दिनुहोस्