बीमा बोर्डले सामाजिक सुरक्षा कार्यक्रम खर्च मापदण्ड खारेज

सहयात्रा टिभी

काठमाडौं । माघ १५, स्वास्थ्य बीमा बोर्डले सामाजिक सुरक्षा कार्यक्रम खर्च मापदण्ड खारेज गरेको छ ।

बोर्ड गठन हुनुभन्दा अगाडि सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले १० साउन २०७३ मा सेवाप्रदायक संस्थालाई खर्च विषयमा मापदण्ड तय गरेको थियो ।

उक्त मापदण्डमा सेवाप्रदायक संस्थाले औषधिमा ३५ प्रतिशत, औजार उपकरणमा ३० प्रतिशत, जनशक्तिमा १५ प्रतिशत, प्रोत्साहन भत्ता १० प्रतिशत, प्रशासनिक खर्च १० प्रतिशत र १० प्रतिशत स्वास्थ्य संस्था व्यवस्थापन समितिका लागि भनेर मापदण्ड तय भएको थियो ।

तर पछिल्लो समयमा बोर्डबाट अस्पताललाई भुक्तानी गर्दा औषधिमा र औजार उपकरण खर्चमा भन्दा अन्य शीर्षकमा खर्च भएको गुनासो बढेपछि बोर्डले मापदण्ड नै खारेज गरेको हो ।

उक्त निर्णय बोर्डले २४ पुसमा गरेको थियो । तर सेवाप्रदायक संस्थालाई परिपत्र गरेको थिएन ।

१३ माघमा सेवा प्रदायक स्वास्थ्य संस्थालाई कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलले परिपत्र गरेका छन् ।

उक्त परिपत्रमा भनिएको छ, ‘स्वास्थ्य बीमा बोर्डबाट सेवा प्रदायक स्वास्थ्य संस्थालाई जाने भुक्तानीको खर्च प्रचलित कानुन बमोजिम हुने निर्णय भएकाले बोर्डबाट स्वास्थ्य संस्थालाई प्राप्त हुने दाबी भुक्तानी रकम प्रचलित नियमानुसार खर्च गर्नुहोला ।’

बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार सामाजिक स्वास्थ्य सुरक्षा समिति रहँदाको जारी परिपत्रका आधारमा खर्च छुट्याउने अभ्यास अब लागु हुँदैन ।

 

प्रकाशित : 29 January, 2026

प्रतिक्रिया दिनुहोस्