सैन्य तनावका बीच अमेरिका र इरानबीच वार्ताको तयारी, कतारद्वारा मध्यस्थताको प्रयास
सहयात्रा टिभी
काठमाडौं । माघ १८, खाडी क्षेत्रमा अमेरिकाले सैन्य उपस्थिति बढाउँदै लगेपछि चुलिएको तनावका बीच इरान र अमेरिकाबीच वार्ताको वातावरण निर्माण भइरहेको संकेत देखिएको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख अली लारिजानीले सञ्चारमाध्यममा देखिएको युद्धको माहोलभन्दा फरक ढंगले वार्ताको संरचना निर्माण गर्ने काम अघि बढिरहेको जानकारी दिएका छन् । यद्यपि, उनले सम्भावित वार्ताको निश्चित ढाँचाबारे विस्तृत विवरण भने सार्वजनिक गरेका छैनन् ।

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँग सम्झौता हुन सक्नेमा आफू आशावादी रहेको बताएका छन् । फक्स न्युजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले इरान युद्धभन्दा पनि सम्झौताको पक्षमा रहेको आफूलाई विश्वास लागेको उल्लेख गर्दै वार्ता र सैन्य परिचालन दुवै प्रक्रिया सँगसँगै अघि बढिरहेको स्पष्ट पारेका छन् । उनले अमेरिकी नौसैनिक टोली इरानतर्फ गइरहेको अवस्थामा वार्ताको ढोका पनि खुला रहेको संकेत दिएका हुन् ।
पछिल्ला केही सातादेखि इरानको परमाणु कार्यक्रम र आन्तरिक प्रदर्शनका विषयलाई लिएर दुई देशबीच सम्बन्ध थप चिसिएको छ । अमेरिकाले ‘अब्राहम लिंकन’ विमानवाहक युद्धपोत सहितको ठूलो सैन्य टोली इरान नजिकै तैनाथ गरेपछि सम्भावित सैन्य टकरावको आशंका गरिएको छ । यसैबीच, अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) ले होर्मुज जलडमरूमध्यमा इरानले गर्न लागेको नौसैनिक अभ्यासबारे चेतावनी दिएको छ । यसको जवाफमा इरानी विदेशमन्त्री अब्बास अराघचीले आफ्नै क्षेत्रमा गरिने सैन्य अभ्यासमा अमेरिकाले अवाञ्छित हस्तक्षेप गर्न खोजेको भन्दै कडा प्रतिक्रिया दिएका छन् ।
अत्यन्तै नाजुक र संवेदनशील मोडमा पुगेको यो क्षेत्रीय तनाव कम गर्न कूटनीतिक प्रयासहरू पनि सुरु भएका छन् । यसै सिलसिलामा कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीले तेहरान पुगेर इरानी अधिकारीहरूसँग शान्ति र स्थिरताका विषयमा छलफल गरेका छन् । कतारले खाडी क्षेत्रलाई सम्भावित युद्धको असरबाट जोगाउन कूटनीतिक समन्वय आवश्यक रहेको भन्दै तनाव घटाउने प्रयासमा ऐक्यबद्धता जनाएको छ ।


