बालेनको पक्षमा सादा पोशाकका प्रहरीले समेत मत मागेको भन्ने उजुरी परेपछि अनुसन्धान हुँदै
सहयात्रा टिभी
काठमाडौं । माघ २० , झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका बालेन्द्र ९बालेन० शाहको पक्षमा सादा पोशाकका प्रहरीले समेत मत मागेको भन्ने उजुरी परेपछि निर्वाचन आयोगले अनुसन्धान गर्न निर्देशन दिएको छ ।

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार रहेका बालेनकी श्रीमती सविना काफ्लेले केही दिनअघि झापा–५ का मतदाताको घरदैलो गरेकी थिइन् । उनीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको टोलीले मतदाताहरूसँग बालेनका लागि मत मागेका थिए ।
सो टोलीमा सादा पोशाकामा प्रहरीसमेत खटिएको र उनीहरूले पनि मत मागेको उजुरी आयोगमा परेको हो । उजुरी कर्ताले आयोगमा सविना र टोलीका अन्य सदस्यले मत माग्दै गरेको श्रव्यदृष्य सामग्री आयोगमा बुझाएका छन् ।
निर्वाचन आयोगका अनुसार ‘सादा पोशाकका प्रहरी बालेनलाई भोट माग्दै भन्ने बेहोराको श्रव्यदृश्य सामग्री’ प्राप्त भएको छ ।
यसपछि आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई पत्र लेखेर बालेनको श्रीमती सविनासँग सादा पोशाकका प्रहरी खटिए–नखटिएकोबारे सत्यतथ्य जाँचबुझ गरी प्रतिवेदन तयार गर्न निर्देशन दिएको छ ।


