चुनीखेल नयाँबस्तीमा आगलागी हुँदा २४ परिवार विस्थापित

सहयात्रा टिभी

काठमाडौं । माघ २१ , काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१३ चुनीखेल नयाँबस्तीमा आगलागी भएको छ । आगो लागेको स्थानबाट ७ जनालाई उद्धार गरिएको छ । मंगलबार राति करिब पौने ११ बजेतिरबाट आगो सुरु भएको थियो । सवा १ बजेतिर काठमाठौं महानगर, बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाका दमकलको सहयोगमा आगो निभाइएको थियो ।

वडा अध्यक्ष टिकानारायण श्रेष्ठले दिएको जानकारी अनुसार आगो लागेर २४ कोठा बराबरका लामो टहरा पूरै नष्ट भएको छ । ‘त्यहाँ विभिन्न जिल्लाका बासिन्दाहरु कोठा भाडामा लिएर बस्नु भएको थियो, उहाँहरुको २४ परिवार थियो, सबै विस्थापित हुनुभएको छ’, वडाध्यक्ष श्रेष्ठले भने ।

विस्थापित भएकाहरुलाई नजिकका अरु टहराहरुमा राखिएको छ । उनीहरुलाई आज खाद्यान्न, लत्ताकपडा लगायतका राहत उपलब्ध गराइने तयारी भइरहेको छ । विद्युत सट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीको क्षतिको विवरण भने आइसकेको छैन । आज प्रहरीसहित मुचुल्का उठाइने र क्षतिको विवरण एकिन गर्ने वडाध्यक्ष श्रेष्ठको भनाइ छ ।

प्रकाशित : 4 February, 2026

प्रतिक्रिया दिनुहोस्