मुलुकलाई अहिले सम्हाल्ने शक्तिको खाँचो रहेको छ : कांग्रेस सभापति गगन

सहयात्रा टिभी

काठमाडौं । माघ २३, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकलाई अहिले सम्हाल्ने शक्तिको खाँचो रहेको बताएका छन् ।

शुक्रबार कास्की कांग्रेसको सभालाई सम्बोधन गर्दै सभापति थापाले अहिले देशमा चरम निराशा र अविश्वासको स्थिति रहेकाले यस्तो बेला ‘सम्हाल्ने शक्ति’ चाहिने टिप्पणी गरेका हुन् ।

‘देश सम्हाल्ने शक्ति चाहिएको छ अहिले । आगो जसले पनि लगाउन सक्छ, निभाउनलाई धैर्यता चाहिन्छ, क्षमता चाहिन्छ । त्यो तागत हामीले राख्नुपर्ने छ,’ सभापति थापाले भने, ‘उत्तेजना जसले पनि फैलाउनसक्छ, तर चेतनाको राजनीति गर्ने शक्ति चाहिएको छ हामीलाई ।’

त्यस्तो सम्हाल्ने शक्ति कांग्रेस रहेको उनले दाबी गरे । उनले भने, ‘हामीले मिलाउँछौँ, हामीले सम्हाल्छौँ ।’ नागरिकमा व्याप्त गहिरो असन्तुष्टिको जवाफ सुधारबाटै दिनसकिने उनले बताए ।

‘नागरिकहरूमा रिस छ । राज्यका संस्थाहरू, संविधान, अदालत, राजनीतिक दल र नेतृत्वप्रति चरम अविश्वास छ । त्यही अविश्वासले देशले नै आत्मविश्वास गुमाएको जस्तो अवस्था छ,’ सभापति थापाले भने । समाजमा भित्रभित्र आगो बलिरहेको बताउँदै उनले यो बेला कांग्रेसले नै सम्हाल्नुपर्ने उनले बताए ।

अहिले निराशाको मुख्य जड भ्रष्टाचार नै रहेको सभापति थापाले दाबी गरे । ‘सबैभन्दा ठुलो शत्रु नेपालको को हो भनेर सोध्यो भने नागरिकले भन्छ– करप्सन,’ उनले भने, ‘भ्रष्टाचारविरुद्धको अहिले सबैभन्दा ठुलो योद्धामा बदलिएर आएको नेपाली कांग्रेस हो ।’

नयाँ कांग्रेसको ‘टाउकोदेखि पुच्छरसम्म’ प्रत्येक नेता एउटा संकल्प बोकेर आएको पनि उनले दाबी गरे । ‘नेपाललाई जसरी हिजो हिंसाको आहालबाट बाहिर निकाल्यौँ, अब भ्रष्टाचारको आहालबाट हामी बाहिर निकाल्छौँ’, सभापति थापाले भने ।

 

प्रकाशित : 6 February, 2026

प्रतिक्रिया दिनुहोस्