सर्लाही कारागारको सुरक्षा अब नेपाली सेनाको कमान्डमा

सहयात्रा टिभी

काठमाडौं । फागुन १, सर्लाहीको सदरमुकाम मलंगवास्थित जिल्ला कारागारको सुरक्षा जिम्मेवारी नेपाली सेनाले सम्हालेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार सुरक्षाका दृष्टिले संवेदनशील मानिएका कारागारहरूमा सेना परिचालन गर्ने नीतिअनुरूप बिहीबार साँझ ५ बजेदेखि सेनाले उक्त जिम्मेवारी लिएको हो ।

कारागारको सुरक्षाका लागि मलंगवा सुरक्षा बेस सर्लाहीबाट उपसेनानी जहेन्द्र सिंह ठगुन्नाको नेतृत्वमा २५ जनाको सैनिक टोली खटिएको छ । यसअघि उक्त कारागारको सुरक्षा व्यवस्था नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मिलाउँदै आएका थिए । सरकारले हालै अति संवेदनशील कारागार र महत्त्वपूर्ण आयोजनाहरूको सुरक्षामा सेना खटाउने निर्णय गरेसँगै मलंगवामा पनि सुरक्षा फेरबदल गरिएको हो ।

कालीध्वज गण नवलपुर पाँचकुमारीका गणपति उमेश खड्काले सैनिक टोलीले कारागारमा आफ्नो कार्यभार सम्हालिसकेको पुष्टि गरेका छन् । उनले सरकारको निर्देशन र सम्बन्धित निकायहरूसँगको आवश्यक समन्वयमा कारागारको सुरक्षा व्यवस्थापनलाई प्रभावकारी रूपमा अगाडि बढाइएको जानकारी दिएका छन् ।

प्रकाशित : 13 February, 2026

प्रतिक्रिया दिनुहोस्