काठमाडौंका चोक-चोकमा सुरक्षा व्यवस्था कडा

सहयात्रा टिभी

काठमाडौं । फागुन १, पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राजावादी समूहले गर्न लागेको सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै काठमाडौंको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ ।

शुक्रबार बिहानैदेखि काठमाडौंका मुख्य सडक, चोक र गल्लीहरूमा प्रहरीले गस्ती बढाएको छ भने सम्भावित अराजकतापूर्ण गतिविधि रोक्न थप सुरक्षाकर्मीहरू परिचालन गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार नियमित ड्युटीमा खटिने टोलीका अतिरिक्त अन्य थप टोलीहरूलाई पनि तयारी अवस्थामा (स्ट्याण्डबाई) राखिएको छ ।

पूर्वराजा शाह दिउँसो १२ बजेपछि काठमाडौं विमानस्थलमा अवतरण गर्ने र समर्थकहरूले त्यहाँ स्वागत कार्यक्रम तय गरेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय दुवै टर्मिनलमा सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । विमानस्थल प्रवेश गर्ने मानिसहरूको सघन चेकजाँच भइरहेको छ, जसलाई विमानस्थल सुरक्षा प्रमुख एसएसपी वसन्त रजौरेले नियमित सुरक्षा प्रक्रियाको हिस्सा भएको बताएका छन् ।

राजावादीहरूको प्रदर्शनबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै काठमाडौंस्थित प्रहरीका विभिन्न गण, गुल्म तथा अन्य कार्यालयका टोलीहरूलाई उच्च सतर्कतामा राखिएको छ । प्रवक्ता भट्टराईले कुनै पनि अप्रिय स्थिति सिर्जना भएमा तत्काल परिचालित हुने गरी सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राखिएको जानकारी दिएका छन् ।

प्रकाशित : 13 February, 2026

प्रतिक्रिया दिनुहोस्