‘फेक रेस्क्यू’ प्रकरण : हेलिकप्टर व्यवसायीसहित थप दुई जना पक्राउ
सहयात्रा टिभी
काठमाडौं । फागुन १३, पर्वतारोहणका क्षेत्रमा हुने गरेको नक्कली उद्धार (फेक रेस्क्यू) गरी बिमा रकम ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थप दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा विमान सेवा सञ्चालक सङ्घका पूर्वउपाध्यक्ष ५६ वर्षीय राजेन्द्रबहादुर सिंह र ठमेलस्थित रोयल होलिडेज एडभेञ्चर एण्ड ट्राभलका प्रतिनिधि २८ वर्षीय सन्दीप तिवारी रहेका छन् । ब्युरोका अनुसार काठमाडौं महानगरपालिका–३१ निवासी सिंहलाई बुधबार र धादिङको ज्वालामुखी गाउँपालिका–२ का तिवारीलाई मङ्गलबार नियन्त्रणमा लिइएको हो ।
सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार यो प्रकरणमा हालसम्म नौ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेहरूमा ट्रेकिङ तथा रेस्क्यू कम्पनीका सञ्चालक, अस्पतालका प्रतिनिधि, विदेशी बिमा कम्पनीका नेपालस्थित कर्मचारी र हेलिकोप्टर कम्पनीका शेयरधनीहरू रहेका छन् ।
ब्युरोको प्रारम्भिक अनुसन्धानबाट खुलेअनुसार अभियुक्तहरूले उच्च हिमाली क्षेत्रमा पदयात्रामा गएका विदेशी पर्यटकहरूको स्वास्थ्य अवस्था सामान्य हुँदाहुँदै पनि कृत्रिम समस्या देखाएर नक्कली उद्धार (फेक रेस्क्यू) गर्ने गरेका थिए । यसरी झूटो उद्धार देखाई उनीहरूले विदेशी बिमा कम्पनीहरूबाट मोटो रकम दाबी गरी गैरकानुनी रूपमा आर्थिक लाभ लिने गरेको पुष्टि भएको छ ।
पर्वतारोहण क्षेत्रलाई नै बदनाम गराउने गरी भएको यस ठगी प्रकरणमा ब्युरोले सूक्ष्म अनुसन्धानलाई जारी राखेको छ । पक्राउ परेकाहरूमाथि थप कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


