दुर्गा प्रसाईं फेरि पक्राउ

सहयात्रा टिभी

काठमाडौं । फागुन १७, ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार बिहान पुनः पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनलाई भक्तपुरस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिएको हो।

पारिवारिक स्रोतका अनुसार, आज बिहान ६ बजेदेखि नै प्रहरी टोली प्रसाईंको निवास वरिपरि तैनाथ भएको थियो। बिहान पौने आठ बजेतिर प्रहरीले पक्राउ पुर्जी थमाउँदै उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर भक्तपुर लगेको छ। प्रहरीले उनलाई ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दा’ को अनुसन्धानका लागि पक्राउ गरिएको जनाएको छ।

प्रसाईं यसअघि पनि गत फागुन ४ गते काठमाडौंबाट पक्राउ परेका थिए। उनलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी श्रीमती उमा प्रसाईंले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएपछि फागुन १३ गते उनी रिहा भएका थिए। अदालतको आदेशबाट छुटेको एक हप्ता नबित्दै प्रहरीले उनलाई फेरि अर्को मुद्दामा पक्राउ गरेको हो।

हाल उनलाई प्रहरी हिरासतमा राखेर सार्वजनिक शान्ति खलल पुर्‍याएको आरोपमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : 1 March, 2026

प्रतिक्रिया दिनुहोस्