नेप्से ३८.५२ अंक बढेसँगै २७१२ मा कायम
सहयात्रा टिभी
काठमाडौं । फागुन १९, प्रतिनिधिसभाको चुनाव अघि सेयर बजारले २७ सय अंक नाघेको छ । मंगलबार बजार परिसूचक नेप्से ३८.५२ अंक बढेसँगै २७१२ मा कायम भएको छ । अब बजार चुनावपछि सोमबारदेखि मात्रै खुल्नेछ ।

चुनाव हुनुभन्दा करिब १० दिन अघिदेखि नै बजारमा उत्साह देखिएको छ । फागुन १० यता सेयर बजार ९८ अंक बढेको छ ।
सो दिन नेप्से परिसूचक २६१४ अंकमा थियो । कारोबार रकम पनि आज बढेको छ । अघिल्लो दिन ५ अर्ब ६४ करोडको कारोबार भएकोमा आज ६ अर्ब २३ करोडको भयो ।
साल्पा विकास बैंकको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै पन्चकन्य माइ हाइड्रोपावरको ९.८९, रिलायन्स स्पिनिङ मिल्सको ९.८२, मोलुङ हाइड्रोपावरको ६.१८, लक्ष्मी लघुवित्तको ६.०९ प्रतिशत मूल्य बढ्यो ।
शुभम् पावरको मूल्य सबैभन्दा धेरै २.५३ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, रिडी पावर, एसवाई प्यानल, मञ्जुश्री फाइनान्स तथा ङादी ग्रुप क्रमश अगाडि रहे ।


