लन्डनमा नेपाली विद्यार्थीलाई ठक्कर दिने र्यापरलाई १२ वर्ष जेल सजाय
सहयात्रा टिभी
काठमाडौं । फागुन २०, लन्डनमा कारको ठक्करबाट नेपाली विद्यार्थीको मृत्यु भएको अभियोगमा दोषी ठहर एक चर्चित ब्रिटिश र्यापरलाई अदालतले १२ वर्षको जेल सजाय सुनाएको छ ।

गत १८ अक्टोबर, २०२५ मा उत्तर पूर्वी लन्डनको इल्फोर्डमा २० वर्षीय नेपाली विद्यार्थी युविन तामाङको मृत्यु भएको घटनामा गेट्स नामले चिनिने बेलायतका अवार्ड विनिङ र्यापर जस्टिन क्लार्क स्यामुएललाई इङ्गल्याण्ड र वेल्सको केन्द्रीय फौजदारी अदालत ओल्ड बेलीले मंगलबार १२ वर्षको जेल सजाय सुनाएको हो ।
४१ वर्षीय गेट्सलाई खतरनाक तरिकाले सवारी चलाएर मृत्यु गराएको अभियोगमा दोषी ठहर गर्दै बेलायती अदालत ओल्ड बेलीका न्यायाधीश मार्क लुक्राफ्ट (केसी) ले १७ वर्षका लागि सवारी चलाउन अयोग्यसमेत ठहर गरेका छन् ।
गेट्सले यसअघि खतरनाक ड्राइभिङका कारण युबिनको मृत्यु भएको स्वीकार गरेका थिए । पूर्वी लन्डनको वुडफोर्डका वासिन्दा स्यामुएलले जोखिमपूर्ण ड्राइभिङका कारण तामाङको मृत्यु गराएको र सोही दिन गरेको अर्को जोखिमपूर्ण ड्राइभिङ सम्बन्धी मुद्दामा आफू दोषी भएको स्वीकारेका थिए । उनले मादक पदार्थको सीमा नाघेर सवारी चलाएको र जोखिमपूर्ण ड्राइभिङ गरेको दुईवटा थप अभियोगसमेत सामना गरेका थिए ।
लन्डन इल्फोर्डस्थित रेडब्रीज लेनमा गत १८ अक्टोबर बेलुका गेट्सले चलाएको बिएमडब्लु कारले बाटो काटिरहेका युबिनलाई ठक्कर दिएपछि उनी गम्भीर घाइते भएका थिए । घट्नाको दुई दिनपछि युबिनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो । ति गायक घटनास्थलमा मोटर नरोकी फरार भएका थिए । सीसीटीभी फुटेजमा घट्ना स्तब्ध पार्ने खालको देखिएको थियो ।
अदालतले स्यामुएलले ३० माइल प्रतिघण्टा क्षेत्रमा ६० माइल प्रतिघण्टा बढीको गतिमा गाडी चलाइएको पाइएको बताएको छ । प्रहरीले घट्नाको भोलिपल्ट बिहानै वुडफोर्डस्थित उनको घरमा खोजतलास गरेको थियो । उनकै नाममा दर्ता र बीमा गरिएको कालो बीएमडब्लु गाडी प्रहरीले ‘गम्भीर रूपमा क्षतिग्रस्त’ अवस्थामा फेला पारेको थियो ।
धरान ११ निवासी बाबा विकास तामाङ र आमा शर्मिला मगर तामाङका एक्ला छोरा युबिन उच्च शिक्षाका लागि गत २०२४ सेप्टेम्बरमा बेलायत आएका थिए । उनी युनिभर्सिटी अफ रोह्याम्पटनमा बीएस्सी विजनेश म्यानेजमेन्टमा दोस्रो वर्षमा अध्ययनरत थिए । युबिनको निधनपछि बेलायतस्थित कैयौं नेपाली संघसंस्थाले परिवारलाई चन्दा संकलन गरी आर्थिक सहयोग गरेका थिए ।


