काठमाडौं-१ मा रञ्जु दर्शनाको सानदार जित, रास्वपाले खोल्यो खाता

सहयात्रा टिभी

काठमाडौं । फागुन २२, आमनिर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं क्षेत्र नम्बर १ बाट विजयी सुरुवात गरेको छ । रास्वपाकी उम्मेदवार रञ्जु दर्शनाले आफ्ना प्रतिस्पर्धीहरूलाई भारी मतान्तरले पछि पार्दै पार्टीका लागि जितको पहिलो खाता खोलेकी हुन् ।

रञ्जु १५ हजार ४ सय ५५ मतसहित विजयी भएकी हुन्। कांग्रेसका उम्मेदवार प्रबल थापाले ६ हजार ३ सय ६४ मत ल्याएका छन् । त्यस्तै तेस्रो स्थानमा राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका रवीन्द्र मिश्रले ३ हजार ९ सय ७२ मत ल्याए । त्यस्तै एमालेका मोहनराज रेग्मीले १ हजार ६ सय १८ मत ल्याए ।

विगतका दुई निर्वाचनमा असफलता व्यहोरेकी रञ्जुका लागि यसपटकको जित निकै विशेष र संघर्षपूर्ण रह्यो । उम्मेदवारी मनोनयन दर्ता गराउँदा ८ महिनाकी गर्भवती रहेकी उनले स्वास्थ्य जोखिम मोलेरै प्रत्यक्षतर्फको चुनावी मैदानमा उत्रिने साहस गरेकी थिइन् । शारीरिक अवस्थाका कारण घरदैलो अभियानमा सहज रूपमा सहभागी हुन नसके पनि मतदाताले उनलाई भारी मत दिएर पत्याएका छन् । मतदानको ठीक एक हप्ताअघि मात्रै छोरालाई जन्म दिएकी उनी नवजात शिशु बोकेरै मतदान केन्द्रमा भोट हाल्न पुगेकी थिइन् ।

रञ्जुले प्रत्यक्षतर्फ टिकट पाउनुको पछाडि पनि रोचक राजनीतिक घटनाक्रम जोडिएको छ । खासमा उनी रास्वपाको समानुपातिक उम्मेदवार बन्ने दौडमा थिइन् । पार्टीभित्र भएको ‘प्राइमरी इलेक्सन’मा सर्वाधिक मत प्राप्त गरे तापनि निर्वाचन आयोगमा बन्दसूची बुझाउने क्रममा पार्टीले उनलाई तल्लो प्राथमिकतामा राखेको थियो । सो निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएकी थिइन् । उनीमाथि अन्याय भएको भन्दै चौतर्फी आलोचना भएपछि अन्ततः रास्वपा नेतृत्वले उनलाई प्रत्यक्षतर्फ काठमाडौं १ को टिकट दिएको थियो ।

राजनीतिक पृष्ठभूमिको कुरा गर्दा, रञ्जु केही समयअघि मात्रै विवेकशील साझा पार्टी छाडेर रास्वपामा प्रवेश गरेकी हुन् । विवेकशील साझामा उनी महासचिवको जिम्मेवारीमा थिइन् । यद्यपि, उक्त पार्टीले अपेक्षित राजनीतिक गति लिन नसकेपछि रास्वपा रोजेकी उनलाई नयाँ दलले सफलताको ढोका खोलिदिएको छ ।

यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा विवेकशील साझा पार्टीबाटै काठमाडौं महानगरपालिकाको मेयरमा जम्मा २१ वर्षको उमेरमा उम्मेदवारी दिँदा उनको राष्ट्रिय स्तरमै चर्चा भएको थियो । त्यसबेला उनले २३ हजार ४ सय ३९ मत ल्याएर तेस्रो स्थान हासिल गरेकी थिइन् । त्यतिबेला साझा पार्टीका किशोर थापासँग उनको मत बाँडिदा एमालेका विद्यासुन्दर शाक्यले चुनाव जितेका थिए ।

त्यसपछि २०७९ सालको आमनिर्वाचनमा काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवार बनेकी रञ्जुका लागि उक्त चुनाव भने बिर्सनलायक रह्यो, जहाँ उनको जमानत नै जफत भएको थियो । तर, २०८२ को निर्वाचनमा भने विगतका सबै निराशालाई चिर्दै रञ्जुले पासा पल्टाएकी छन् र पहिलोपटक संसदीय सफलताको स्वाद चाखेकी छन् ।

प्रकाशित : 6 March, 2026

प्रतिक्रिया दिनुहोस्