इरानी ड्रोन खसाल्न युक्रेनले खाडी राष्ट्रलाई विज्ञता बाँड्ने, जेलेन्स्कीले पठाए विज्ञ टोली

सहयात्रा टिभी

काठमाडौं । फागुन २७, युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले इरानी ड्रोन आक्रमणको चपेटामा परेका खाडी राष्ट्रहरू र मध्यपूर्वका अमेरिकी सैन्य शिविरहरूलाई सहयोग गर्न युक्रेनी सैन्य विज्ञहरूको टोली पठाएका छन्। युक्रेनी विज्ञहरूले कतार, संयुक्त अरब इमिरेट्स (यूएई) र साउदी अरब पुगेर ‘अट्याक ड्रोन’ खसाल्ने आफ्नो सीप र अनुभव ती देशहरूसँग बाँड्नेछन् ।

विगत चार वर्षदेखि रुसले प्रहार गरिरहेका इरानी ‘शाहेद’ ड्रोनहरूको निरन्तर सामना गरिरहेको युक्रेनले यस क्षेत्रमा विश्वकै उत्कृष्ट र अद्वितीय अनुभव हासिल गरेको जेलेन्स्कीको दाबी छ । सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले युक्रेनको प्राविधिक अनुभवविना मध्यपूर्व, युरोप र अमेरिकालाई समेत आफ्नो बलियो सुरक्षा प्रणाली निर्माण गर्न निकै कठिन हुने बताएका छन्। हालसम्म युरोप, अमेरिका र इरानका छिमेकीहरूसहित ११ वटा राष्ट्रले युक्रेनसँग यस्तै ड्रोन प्रतिरक्षा प्रविधिको माग गरिसकेका छन्।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा गरेको संयुक्त हवाई आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी लगायतका शीर्ष नेताहरू मारिएका थिए । सो हत्याको बदला लिन इरानले इजरायलका साथै खाडी मुलुकहरूमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूलाई लक्षित गर्दै लगातार क्षेप्यास्त्र र ड्रोन हमला गरिरहेको छ। यही संकटको समयमा युक्रेनले जोर्डनस्थित अमेरिकी बेस क्याम्पको सुरक्षाका लागि समेत आफ्ना विशेषज्ञ र इन्टरसेप्टर ड्रोनहरू खटाएको छ।

यद्यपि, जेलेन्स्कीले यो प्राविधिक सहयोगलाई कूटनीतिक बार्गेनिङको रूपमा प्रयोग गर्दै यसलाई ‘पारस्परिक’ हुनुपर्ने सर्त राखेका छन्। युक्रेनले खाडी राष्ट्रहरू र अमेरिकासँग आफ्नो वायु-प्रतिरक्षा प्रविधिको बदलामा ‘प्याट्रियट’ प्रणालीमा प्रयोग हुने ‘पीएसी-३’ जस्ता शक्तिशाली वायु रक्षा मिसाइलहरू माग गरेको छ ।

जेलेन्स्कीले स्पष्ट रूपमा भनेका छन्, “जसले अहिले युक्रेनको सहयोग खोजिरहेका छन्, उनीहरूले हाम्रो रक्षाका लागि, विशेष गरी हाम्रो वायु रक्षा प्रणालीका लागि पनि आवश्यक हतियार र सहयोग उपलब्ध गराउनुपर्छ।” युक्रेनी रक्षा अधिकारीहरूका अनुसार रगत र ज्यानको ठूलो मूल्य चुकाएर सिकेको यो प्रविधि सित्तैमा बाँड्न सकिँदैन।

इरानले छिमेकी राष्ट्रहरूमाथि जवाफी हमला सुरु गरेयता युक्रेनले आफ्नो युद्ध-परीक्षित सीपलाई हतियार कूटनीतिको एक बलियो अस्त्र बनाएको विश्लेषकहरूको भनाइ छ।

प्रकाशित : 11 March, 2026

प्रतिक्रिया दिनुहोस्