युद्ध अन्त्यका लागि इरानले अघि सार्यो तीन सर्त, खाडीका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र
सहयात्रा टिभी
काठमाडौं । फागुन २८, इरानले क्षेत्रीय ऊर्जा पूर्वाधारहरूमा आक्रमण तीव्र पारेसँगै खाडी क्षेत्रभरि चिन्ता बढेको छ। कुवेत, कतार, युएई र साउदी अरबले इरानका थप क्षेप्यास्त्र र ड्रोनहरूलाई आकाशमै नष्ट गरिरहेका बेला इराकको अल-फाव बन्दरगाहमा दुईवटा विदेशी तेल ट्याङ्करहरूमाथि आक्रमण भएको छ। यसैगरी, पछिल्ला केही घण्टामा बहराइनका इन्धन ट्याङ्कहरूमा आक्रमण भएको छ भने बुधबार ओमानको बन्दरगाह सहर सालालाहका इन्धन ट्याङ्कहरूलाई लक्षित गरी ड्रोन आक्रमण गरिएको छ।

बुधबार नै इरानले हर्मुज जलडमरूमा एउटा मालबाहक जहाजलाई पनि निशाना बनाएको थियो। उक्त जहाजका तीन नाविक अझै बेपत्ता छन् भने २० जनालाई ओमानी तटरक्षकले उद्धार गरेका छन्।
यस घटनाको समयलाई निकै चासोका साथ हेरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलडमरूमा जहाजहरूलाई निशाना नबनाउन वा पानीमा धराप (माइन) नबिछ्याउन इरानलाई चेतावनी दिएलगत्तै यो आक्रमण भएको हो। इरानी अधिकारीहरूले थाइल्याण्डको झण्डा भएको उक्त जहाजले आफूहरूको आदेशको बेवास्ता गरेका कारण आक्रमण गरिएको बताएका छन्। जलडमरू पार गर्न सबै जहाजहरूले इरानसँग अनुमति लिनुपर्ने उनीहरूको भनाइ छ। साथै, इरानले अमेरिका र उसका सहयोगी राष्ट्रहरूलाई विश्वको २० प्रतिशत तेल आपूर्ति हुने उक्त साँघुरो जलमार्गबाट प्रवेश गर्न नदिने चेतावनीसमेत दिएको छ।
यस घटनापछि अमेरिकी राष्ट्रपति ट्रम्पले हर्मुज जलडमरूमा तेल ट्याङ्करहरूको सुरक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यता, इरानले भने विश्वलाई प्रतिब्यारेल २०० डलरमा तेल खरिद गर्न तयार रहन चेतावनी दिएको छ।
युद्धको यो बढ्दो तनावबीच इरानका राष्ट्रपति मसुद पेजेस्कियनले युद्ध अन्त्यका लागि तीनवटा शर्तहरू अघि सारेका छन् : तेहरानको वैध अधिकारको मान्यता, क्षतिपूर्तिको भुक्तानी र भविष्यमा कुनै आक्रमण नहुने सुनिश्चिततासहितको अन्तर्राष्ट्रिय ग्यारेन्टी।
अर्कोतर्फ, इजरायली सेनाले लेबनानको राजधानी बेरुतमा ठूलो मात्रामा आक्रमण जारी राखेका बेला इरान र हिजबुल्लाहले पनि इजरायलमाथि समन्वयात्मक रूपमा शृंखलाबद्ध आक्रमण सुरु गरेका छन्।


