इरानले क्यालिफोर्नियामा ड्रोन आक्रमण गर्न सक्ने एफबीआईको मेमो सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । फागुन २८, अमेरिकाको क्यालिफोर्नियामा समुद्री मार्ग हुँदै इरानले ‘सरप्राइज’ ड्रोन आक्रमण गर्न सक्ने अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) को एउटा आन्तरिक मेमो (सूचना) सार्वजनिक भएपछि चिन्ता बढेको छ। यद्यपि, कानुन कार्यान्वयन गर्ने निकायका अधिकारीहरू र आन्तरिक सुरक्षा विशेषज्ञहरूले भने तत्कालै त्यस्तो कुनै गम्भीर र विशिष्ट खतरा नरहेको स्पष्ट पारेका छन्।

सीबीएस न्युजले प्राप्त गरेको उक्त मेमोका अनुसार, यदि अमेरिकाले इरानमाथि आक्रमण गरेको खण्डमा इरानले अज्ञात समुद्री जहाजबाट मानवरहित हवाई सवारी (युएभी) अर्थात् ड्रोन प्रयोग गरेर क्यालिफोर्नियाका अज्ञात लक्ष्यहरूमा आक्रमण गर्ने योजना बनाएको “अपुष्ट” जानकारी एफबीआईले प्राप्त गरेको थियो। तर, आक्रमणको सम्भावित समय, विधि, लक्ष्य वा संलग्न व्यक्तिहरूको बारेमा कुनै थप जानकारी नभएको मेमोमा उल्लेख छ।

क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत हालसम्म कुनै पनि विशिष्ट वा तत्काल खतराको जानकारी नभएको तर राज्य कुनै पनि आपत्कालीन अवस्थाका लागि तयार रहेको बताएका छन्। त्यसैगरी, लस एन्जलस प्रहरी विभागले पनि हाल लस एन्जलसमा कुनै गम्भीर खतरा नरहेको र विश्वव्यापी घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ।

अधिकारीहरूले एफबीआईको यो जानकारीलाई “अपुष्ट” र “तत्काल कुनै कारबाही अघि बढाउन नमिल्ने” प्रकृतिको रहेको बताएका छन्।

अमेरिका-इजरायल र इरानबीच चलिरहेको युद्धका बीच यो चेतावनी सार्वजनिक भएको हो। मध्यपूर्वमा इरानले अमेरिकी सैन्य अखडाहरूमा आफ्नो ‘शाहेद-१३६’ जस्ता ड्रोनहरूमार्फत आक्रमण गर्दै आएको छ।

यद्यपि, पूर्व एफबीआई एजेन्ट तथा सुरक्षा विशेषज्ञहरूका अनुसार सम्भावित खतराहरूबारे स्थानीय कानुन कार्यान्वयन गर्ने निकायहरूलाई सचेत गराउनु एफबीआईको नियमित प्रक्रिया मात्र हो। शतप्रतिशत सत्य नभए पनि स्थानीय निकायहरूलाई पूर्वतयारी र सतर्कताका लागि यस्ता सूचनाहरू आदानप्रदान गर्ने गरिन्छ। यसको अर्थ अमेरिकामा तुरुन्तै आक्रमण हुँदैछ भन्ने नभएको उनीहरूले स्पष्ट पारेका छन्।

प्रकाशित : 12 March, 2026

प्रतिक्रिया दिनुहोस्