चुनावमा सोचे जस्तो परिणाम नआएको ओलीको स्वीकारोक्ति, जनताको फैसला शिरोधार्य
सहयात्रा टिभी
काठमाडौं । फागुन २८, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्खरै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको नतिजा आफ्नो पार्टीले अपेक्षा गरेअनुरूप नआएको स्वीकार गरेका छन्। यद्यपि, उनले जनमतलाई पूर्ण सम्मानका साथ स्वीकार गर्दै निरन्तर जनताको सेवामा लागिरहने प्रतिबद्धता जनाएका छन्।

सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै अध्यक्ष ओलीले लोकतन्त्रमा जनताको फैसला नै अन्तिम हुने बताएका छन्। प्राप्त जनमतलाई सहर्ष स्वीकार गर्दै उनले उक्त फैसलालाई शिरोधार्य गर्नु आफ्नो र सिङ्गो पार्टीको कर्तव्य भएको स्पष्ट पारेका छन्।
यस कठिन परिस्थितिमा पनि एमालेको चुनाव चिह्न ‘सूर्य’ मा मतदान गर्ने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक तथा शुभेच्छुकप्रति उनले हार्दिक आभार प्रकट गरेका छन्। जनताको विश्वास र साथ नै पार्टीको मुख्य शक्ति तथा तागत भएको ओलीको भनाइ छ।
निर्वाचनको नतिजा आफ्नो पक्षमा नआए पनि जनताप्रतिको सेवाभाव र प्रतिबद्धतामा कुनै कमी नआउने उनले दाबी गरेका छन्। “हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ,” उनले आफ्नो सन्देशमा उल्लेख गरेका छन्। अन्त्यमा उनले मतदान गर्ने र साथ दिने सबैलाई हृदयदेखि धन्यवाद दिएका छन्।


