श्रम संस्कृतिले समानुपातिक तर्फका सांसदको नाम टुंग्यायो
सहयात्रा टिभी
काठमाडौं । चैत्र १, श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका चार जना सांसदको नाम टुंगो लगाएको छ ।

धरानमा आज बसेको केन्द्रीय समिति बैठकले ४ जनाको नाम टुंगो लगाएको पार्टी प्रवक्ता सत्य घलेले जानकारी दिए । बैठकले टुंगो लगाएको नाम आयोगमा पठाइने उनले बताए ।
श्रम संस्कृति पार्टीले समानुपातिकमा आदिवासी जनजाति क्लस्टरबाट सुनसरीका पूर्ण लिम्बू (पुरुष), मधेशीबाट धनुषाकी रुवीकुमारी ठाकुर, खसआर्यबाट सुनसरीकी अम्बिकादेवी संग्रौला र दलितबाट सुर्खेतकी राधिका रम्तेल (सार्की) को नाम टुंगो लगाएको हो ।
आदिवासीबाट छनोटमा परेका लिम्बू बृटिस गोर्खा भूपु सैनिकका क्याप्टेन हुन् । उनको नाम अध्यक्ष साम्पाङले आइतबार बिहानै एक कार्यक्रमबाट सार्वजनिक गरेका थिए ।
धनुषाकी ठाकुर जेनजी हुन् । पार्टीले जेनजी समूहलाई पनि अनिवार्य समेट्ने उद्देश्यले मधेशी महिलाबाट ठाकुरको नाम समावेश गरेको अध्यक्ष साम्पाङले बताए ।
समानुपातितर्फ पार्टीमा महिला कार्यकर्ताहरू सांसदका आकांक्षी बढी देखिएपछि थोरै सिटमा मिलाउन सकस भएको थियो ।
यसअघि आदिवासी महिला क्लस्टरमा मकवानपुरकी मन्दिरा मोक्तान, काठमाडौंकी आशा लामा र सुनसरीकी समला राईको नाम चर्चामा थियो ।
पुरुषहरूमा भने खसआर्य क्लस्टरमा अपाङ्गता (दृष्टि सम्बन्धी) भएका मोरङका जीवन विष्टसँग भद्र सहमति भएपछि क्याप्टेन लिम्बूको नाम सिफारिस भएको थियो ।
पार्टीले निर्वाचन आयोगले तोकेअनुसार क्लस्टर मिलाउने प्रयास गर्दा समानुपातिक सिट थोरै तर सांसद बन्न चाहने आकांक्षीहरू धेरै भएपछि बन्द सूचीमा रहेका समानुपातिक उम्मेद्वारहरू मध्येबाट नाम टुंग्याउन साम्पाङलाई सकस भएको थियो ।


