प्रधानमन्त्री कार्कीलाई नियुक्तिसम्बन्धी निर्णय सच्याउन सागर ढकालको आग्रह
सहयात्रा टिभी
काठमाडौं । चैत्र २, गुल्मी-१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सागर ढकालले आइतबारको मन्त्रिपरिषद् बैठकले गरेका नियुक्तिसम्बन्धी निर्णयहरू सच्याउन प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरेका छन्। सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद ढकालले नातावाद र कृपावादको अन्त्य गर्नुपर्ने भन्दै ती निर्णयमा पुनर्विचार गर्न अनुरोध गरेका हुन्।

आइतबार सरकारले प्रधानमन्त्रीका स्वकीय सचिवलाई प्रकृति संरक्षण कोषमा नियुक्त गर्ने र गुल्मी जिल्लाकै गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
यी निर्णयहरूप्रति असहमति जनाउँदै ढकालले कुनै विज्ञता र अनुभव नभएको व्यक्तिलाई केवल प्रधानमन्त्रीको स्वकीय सचिव भएकै आधारमा प्रकृति संरक्षण कोषजस्तो जिम्मेवार निकाय सुम्पन नमिल्ने प्रष्ट पारेका छन्।
प्रधानमन्त्रीलाई ‘आमा’ भनी सम्बोधन गर्दै ढकालले देशलाई ठूलो निकास दिएकोमा उनीप्रति हृदयदेखि सम्मान व्यक्त गरेका छन्। यद्यपि, जतिसुकै ठूला महामानवबाट पनि गल्ती हुनसक्ने भन्दै उनले आइतबारका निर्णयले प्रधानमन्त्रीका अघिल्ला योगदान ओझेलमा पर्न सक्ने चिन्ता व्यक्त गरेका छन्। तसर्थ, जाँदाजाँदै आफ्ना गल्ती सच्याएर उदारता प्रस्तुत गर्न उनले प्रधानमन्त्रीसमक्ष अपिल गरेका छन्।


