होर्मुज स्ट्रेट खुलाउन सहयोग नगरे नेटोको भविष्य संकटमा पर्ने ट्रम्पको चेतावनी

सहयात्रा टिभी

काठमाडौं । चैत्र २, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेट (जलडमरु) पुनः सञ्चालन गर्ने कार्यमा युरोपेली राष्ट्रहरूले सहयोग नगरे नेटोको भविष्यमा गम्भीर असर पर्ने चेतावनी दिएका छन्।

‘फाइनान्सियल टाइम्स’लाई दिएको एक अन्तर्वार्तामा ट्रम्पले युरोपेली मुलुकहरूबाट सहयोगको अपेक्षा गरिएको र उनीहरूको तर्फबाट कुनै सकारात्मक प्रतिक्रिया नआए त्यसले नेटोको भविष्यका लागि अत्यन्तै नराम्रो परिणाम ल्याउन सक्ने स्पष्ट पारेका हुन्।

यस अन्तर्वार्ताको अघिल्लो दिन मात्रै ट्रम्पले होर्मुज स्ट्रेट खुलाउन भइरहेको संयुक्त प्रयासमा जोडिन चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतलाई आह्वान गरेका थिए।

आगामी मार्चको अन्त्यतिर बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग आफ्नो भेटवार्ता तय भएको उल्लेख गर्दै ट्रम्पले सो बैठक अगावै चीनले स्ट्रेट खुलाउन आवश्यक कदम चाल्ने र सहयोग गर्ने विश्वाससमेत व्यक्त गरेका छन्। चीनले आफ्नो आवश्यकताको ९० प्रतिशत तेल यही होर्मुज स्ट्रेट हुँदै आयात गर्ने गरेको ट्रम्पले स्मरण गराएका छन्।

यसैबीच, ट्रम्पले आफ्नो तय भएको चीन भ्रमण स्थगित हुन सक्ने संकेत पनि गरेका छन्। यद्यपि, भ्रमण स्थगित हुने विषयमा उनले स्पष्ट जानकारी भने नदिएको बीबीसीले जनाएको छ।

प्रकाशित : 16 March, 2026

प्रतिक्रिया दिनुहोस्