बर्सेनि नुनको अभाव झेल्दै हुम्लाका बासिन्दा

सहयात्रा टिभी

काठमाडौं । चैत्र ३, हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका छन् ।

जिल्लाका ताँजाकोट, अदानचुली, सर्केगाड र चंखेली गाउँपालिकामा सीमित मात्रामा मात्रै सरकारको ढुवानी सहुलियतमा नुन पुग्ने गरेको र त्यो नुन वर्षभरि नपुग्ने गुनासो आएको छ ।

ती चार गाउँपालिकामा ३२ हजार ३३२ जनसंख्या छ । जहाँ वर्षमा एक पटकमात्रै नुन आपूर्ति हुने गरेको स्थानीयको गुनासो छ ।

जिल्ला सदरमुकाम सिमकोटमा मंगलबार सरोकारवाला निकाय, राजनीति दल, जनप्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाजसहितको सर्वपक्षीय बैठक बसेर जिल्लामा आपूर्ति भइरहेको नुन पर्याप्त नभएको निष्कर्ष निकालेको छ । बैठकले आउने वर्षका लागि थप एक हजार ५०० क्विन्टल नुन माग गर्ने निर्णय गरेको छ ।

यहाँ सहुलियतमा नुन वितरणको जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले हालसम्म सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालिकामा एक हजार ५२९ क्विन्टल र नाम्खा गाउँपालिकामा ६३० क्विन्टल सहुलियत कोटाको नुन वितरण गर्दै आएको जनाएको छ ।

प्रकाशित : 17 March, 2026

प्रतिक्रिया दिनुहोस्