विश्वप्रसिद्ध ब्रान्डको नक्कल गर्ने नेपाली कम्पनीसँग स्पष्टीकरण माग

सहयात्रा टिभी

काठमाडौं । चैत्र ४, नेपालमा आफ्नो ट्रेडमार्क (व्यापारिक चिन्ह) चोरी भएको भन्दै कोकाकोला, जुम, ह्युगो बोस जस्ता विश्वप्रसिद्ध बहुराष्ट्रिय कम्पनीहरूले उजुरी हालेपछि उद्योग विभागले आरोपित स्वदेशी कम्पनीसँग स्पष्टीकरण माग गरेको छ ।

यसअघि विभागले पठाएको म्याद सूचनालाई बेवास्ता गरी कुनै जवाफ नफर्काएका विभिन्न ११ वटा नेपाली उद्योग तथा कम्पनीलाई विभागले अहिले फेरि ७ दिनभित्र सप्रमाण उपस्थित हुन सार्वजनिक सूचना नै जारी गरेर अल्टिमेटम दिएको हो ।

विभागका अनुसार ट्रेडमार्क दाबी विरोध गर्दै उजुरी परेका ती उद्योग तथा कम्पनीहरूलाई यसअघि नै ‘संक्षिप्त कार्यविधि ऐन, २०२८’ बमोजिम उजुरीको प्रतिलिपीसहित म्याद सूचना पठाइएको थियो ।

तर, उनीहरूले हालसम्म कुनै पनि लिखित प्रतिक्रिया पेस नगरेको र म्याद तामेली प्रतिवेदनसमेत प्राप्त नभएपछि विभागले सूचना प्रकाशन गर्नुपरेको जनाएको छ ।

सूचना प्रकाशन भएको मितिले बाटोको म्यादबाहेक ७ दिनभित्र कानुन शाखामा आइपुग्ने गरी लिखित जवाफ नआएमा कानुन बमोजिम एकतर्फी कारबाही अघि बढ्ने कडा चेतावनी विभागले दिएको छ ।

विभागले सार्वजनिक गरेको सूची अनुसार सबै ११ वटै उजुरी ‘ट्रेडमार्क दाबी विरोध’ सँग सम्बन्धित छन् । जसमा चर्चित अन्तर्राष्ट्रिय ब्रान्डले नेपाली उत्पादनमा आफ्नो नाम जोडिएको वा हुबहु नक्कल गरिएको दाबी गरेका छन् ।

विश्वप्रसिद्ध पेय पदार्थ कम्पनी द कोकाकोला कम्पनी (अमेरिका) ले सुनसरीको प्रिमियर अर्गान्स प्रालि विरुद्ध ‘पलपल कोला’ ब्रान्ड राखेकोमा उजुरी गरेको छ ।

त्यस्तै कोकाकोलाले नै नेपालको पाथिभरा फुड एन्ड प्याकेजिङ उद्योगविरुद्ध पनि ‘कुल कोला’ र ‘सुपर फ्यान्टास्टिक’ उत्पादनविरुद्ध दुईवटा छुट्टाछुट्टै उजुरी दर्ता गराएको छ ।

 

प्रकाशित : 18 March, 2026

प्रतिक्रिया दिनुहोस्