रास्वपा र नेकपाको संसदीय दलको कार्यालय साटफेर गर्ने तयारी

सहयात्रा टिभी

काठमाडौं । चैत्र ४, संसदीय अंकगणित फेरिएसँगै केही राजनीतिक दलको संसदीय दलको कार्यालयको स्थान समेत फेरिने भएको छ ।

संघीय संसद् सचिवालयले हाल रहेकै कार्यलयहरूमध्येबाटै संसदीय दलको कार्यालय व्यवस्थापन गर्ने तयारी गरेको छ ।

जसअन्तर्गत यसअघि नेपाली कम्युनिस्ट पार्टीले प्रयोग गर्दै आएको भवन राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०लाई दिने तयारी गरिएको छ ।

प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा रास्वपाले प्रयोग गरेको संसदीय दलको कार्यलयमा भने नेपाली कम्युनिस्ट पार्टीसहितका अन्य साना दलहरूका लागि व्यवस्थापन गरिएको छ । जहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीका लागि समेत संसदीय दलको कार्यालय व्यवस्थापन गरिएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेको हकमा भने पहिले जहाँ रहेको त्यहीँ नै व्यवस्थापन गर्ने तयारी छ । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार भएकै कार्यालयहरूमा दलहरूको संसदीय दलको कार्यालय व्यवस्थापन गर्न लागिएको छ ।

उनले अनलाइनखबरसँग भने, ‘ राजनीतिक दलहरूको संसदीय दलको कार्यालयका लागि भएका मध्येबाट नै व्यवस्थापन गर्ने तयारी गरिएको छ ।’

यी लगायतका विषयमा संसद् सचिवालयले निर्वाचनबाट आएक राजनीतिक दलहरूसँग अनौपचारिक छलफलको तयारी समेत गरेको छ । छलफलमा दलहरूको कार्यालय व्यवस्थापन लगायतका विषयमा कुराकानी हुनेछ ।

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दलको रुपमा आएका छन् ।

१६२ सिटसहित रास्वपा सबैभन्दा ठूलो दलको रुपमा आएको छ । कांग्रेस ३८ सिटसहित दोस्रो, ३५ सिटसहित एमाले दोस्रो र १७ सिटसहित नेपाली कम्युनिस्ट पार्टी तेस्रो दलको रुपमा रहेका छन् ।

यसपटकको निर्वाचनबाट उदाएको श्रम संस्कृति पार्टी ७ सिटसहित पाचौं दलको रुपमा रहेको छ भने राप्रपा ५ सिटसहित छैठौं दलको रुपमाा छ । एक जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।

उनीहरूका लागि संघीय संसद् सचिवालयले सिंहदरबारमा कार्यालय उपलब्ध गराउने तयारी गरेको छ । जसअन्तर्गत सांसद संख्याका आधारमा दलहरूलाई कार्यालय उपलब्ध ‍गराइँदैछ ।

 

प्रकाशित : 18 March, 2026

प्रतिक्रिया दिनुहोस्