इरान युद्धको आज २० औं दिन ठूला इन्धन भण्डारहरू निसानामा
सहयात्रा टिभी
काठमाडौं । चैत्र ५, अमेरिका-इजरायल र इरान युद्धको आज २० औं दिन हो। इरानले बुधबार राति कतारको सबैभन्दा ठूलो ग्यास प्लान्ट ‘रास लाफान’ मा क्षेप्यास्त्र प्रहार गरेको छ।

आक्रमणपछि त्यहाँ आगलागी हुनुका साथै ठूलो क्षति भएको छ, जसलाई नियन्त्रण गर्न तत्काल आपत्कालीन टोलीहरू पठाइएको थियो।
कतारले यस आक्रमणका लागि इरानलाई जिम्मेवार ठहराएको छ। कतारको विदेश मन्त्रालयले सर्वसाधारण र अत्यावश्यक स्थानहरूलाई निशाना बनाएर इरानले ‘लक्ष्मणरेखा पार गरेको’ बताएको छ।
यस्ता आक्रमणले सम्पूर्ण क्षेत्रको अवस्था बिग्रन सक्ने भन्दै सबै देश मिलेर तनाव कम गर्नुपर्ने र शान्ति कायम गर्ने प्रयास गर्नुपर्ने कतारले जनाएको छ।
उता, इरानका नयाँ सर्वोच्च नेता मुजतबा खामेनीले सुरक्षा प्रमुख अली लारिजानीको हत्याको बदला लिने धम्की दिएका छन्। खामेनीले ‘प्रत्येक रगतको मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएका छन्।
अमेरिका-इजरायलले बुधबार दक्षिणी इरानको साउथ पार्स ग्यास फिल्ड र असालुयेह सहरका तेल तथा ग्यास केन्द्रहरूमा हवाई आक्रमण गरेका छन्। साउथ पार्सलाई विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास फिल्ड मानिन्छ।
रिपोर्टहरूका अनुसार, आक्रमणमा ग्यासका साथै पेट्रोकेमिकल र तेलका पूर्वाधारहरूलाई पनि निशाना बनाइएको थियो। इजरायली सञ्चारमाध्यमले पनि बुसहर क्षेत्रको ग्यास केन्द्रमा आक्रमण भएको जानकारी दिएका छन्।


