समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गर्न सुरु
सहयात्रा टिभी
काठमाडौं । चैत्र ५, गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित भएका ११० सांसदलाई प्रमाणपत्र प्रदान गर्न सुरु गरिएको छ ।

निर्वाचन आयोगमा आयोजित कार्यक्रममा विभिन्न छ दलबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका सांसदहरुलाई प्रमाणपत्र वितरण सुरु गरिएको हो ।
आयोगले गत सोमबार ११० जना समानुपातिक सांसदको सूची सार्वजनिक गरेको थियो । सार्वजनिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेपाली कम्युनिष्ट पार्टीबाट ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चार/चार जना सांसद निर्वाचित भएका छन् ।
आज सांसदहरूलाई निर्वाचित प्रमाणपत्र दिएपछि आजै प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने तयारी आयोगले गरेको छ ।
राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसारको सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्ने हुनेछ ।


