कैलालीको खक्रौला नाकामा विवाद हुँदा डीएसपीमाथि हातपात

सहयात्रा टिभी

काठमाडौं । चैत्र ५, कैलालीको खक्रौला नाकामा भारतबाट नेपालतर्फ ल्याइरहेको सामान बरामद गरेको विषय विवाद हुँदा सशस्त्र प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ ।

मंगलबार साँझ टीकापुरको एसजीए ट्रेड एण्ड सप्लायर्सले भारतबाट जीएसटी बिलसहित ल्याइएको सामान सशस्त्र प्रहरीको बीओपी खक्रौलाले बरामद गरेको थियो ।

उक्त सामानलाई अवैध भनेपछि सशस्त्रका बीओपी प्रमुख डीएसपी प्रदीप पौडेलले विवाद सुरु गरेको व्यवसायीको आरोप छ ।

टीकापुर उद्योग वाणिज्य संघसहितका व्यवसायीले उक्त कदमको विरोध गरेपछि सशस्त्र प्रहरीको बीओपी खक्रौलाले सम्बन्धित व्यवसायीलाई बरामद गरिएका सामान फिर्ता गरिसकेको छ ।

उद्योग वाणिज्य संघका महासचिव प्रकाश तिमिल्सिनाले सीमा क्षेत्रमा व्यवसायीलाई सशस्त्र प्रहरीले अनावश्यक दुःख र हैरान दिन थालेको आरोप लगाए ।

उनले मंगलबार समेत सोही खालको कार्य दोहोरिएपछि बीओपीमै पुगेर डीएसपी प्रदीप पौडेलको ध्यानाकर्षण गराइएको र सामान फिर्ता ल्याइएको बताए ।

यो विषयलाई लिएर बुधबार बीओपी पुगेको एक समूहले डीएसपी प्रदीप पौडेलमाथि हातपात गरेको भिडियोसमेत सार्वजनिक भएको छ ।

घटनाको छानबिन गर्न सशस्त्र प्रहरी बल नेपाल नं.७ वैद्यनाथ बाहिनीले समिति गठन गरेको छ ।

बाहिनीमा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक(एसपी)अनिल कार्कीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको वैद्यनाथ बाहिनीका निमित्त प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) दिगविजय सुवेदीले जानकारी दिए ।

सुवेदीले समितिलाई खक्रौला बीओपी घटनाबारे छानबिन गरेर प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको बताए । उनका अनुसार बीओपीमा कार्यरत सशस्त्र प्रहरीमाथि कारबाही प्रक्रियासमेत अगाडि बढिसकेको छ ।

 

प्रकाशित : 19 March, 2026

प्रतिक्रिया दिनुहोस्