देशको विकट क्षेत्र कर्णालीको भ्रमणमा पुगिन् प्रधानमन्त्री

सहयात्रा टिभी

काठमाडौं । चैत्र ५, प्रधानमन्त्री सुशीला कार्की आज देशको विकट पहाडी क्षेत्र कर्णालीको भ्रमणमा छिन् ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन फिल्डमै खटिएर भूमिका निर्वाह गर्ने कर्मचारी, सुरक्षाकर्मी तथा नागरिकप्रति धन्यवाद व्यक्त गर्न उनी कर्णाली पुगेकी हुन् ।

प्रधानमन्त्री कार्की आज बिहान मुगु जिल्लाको रारा पुगिन् । जिल्लास्तरीय सुरक्षा प्रमुखहरूसँग अन्तरक्रिया गरिन् । त्यसपछि उनी जुम्लाको खलंगा पुगेर जिल्लास्तरीय सुरक्षा प्रमुखहरूसँग छलफल गरिन् ।

सो क्रममा उनले सीमित स्रोत–साधन र कठिन भूगोलका बाबजुद पनि प्रभावकारी समन्वय र प्रतिबद्धताका साथ निर्वाचन सम्पन्न गराएको भन्दै सुरक्षा निकाय र कर्मचारीहरूको प्रशंसा गरेकी छन् ।

उनले स्थानीय बासिन्दाहरूसँग पनि भेटघाट तथा अन्तरक्रिया गर्दै निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन देखाइएको एकता, सद्भाव र सहकार्यप्रति विशेष धन्यवाद व्यक्त गरिन्।

‘देशले कठिन परिस्थितिमा पनि लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ, यसको श्रेय सम्पूर्ण नेपाली जनतालाई जान्छ’ उनले भनिन् ।

यसैक्रममा, प्रधानमन्त्री कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन पनि गरिन् । विसं २०३७ सालमा स्थापना भएको उक्त संस्थालाई नेपालकै पहिलो प्राविधिक शिक्षालयमध्ये एक मानिन्छ।

विद्यार्थी, शिक्षक तथा स्थानीय बासिन्दाहरूले प्रधानमन्त्रीलाई लालीगुराँस दिएर स्वागत गरेका थिए।

 

प्रकाशित : 19 March, 2026

प्रतिक्रिया दिनुहोस्