घण्टीमा भोट हाल्ने नेकपा केन्द्रीय सदस्यलाई आँखा चिम्लेर कारबाही गर्छौं : प्रचण्ड
सहयात्रा टिभी
काठमाडौं । चैत्र ६, नेपाली कम्युनिस्ट पार्टीले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवारलाई भोट हाल्ने पार्टी नेताहरुको खोजी थालेको छ । त्यस्ता नेता पत्ता लगाएर कारबाही गर्ने चेतावनी उसले दिएको छ ।

जनवर्गीय संगठनहरुका नेताहरुको बैठकलाई विहीबार पार्टी कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै प्रचण्डले केन्द्रीय सदस्यहरुले नै आफ्नो पार्टीका उम्मेदवारलाई भोट नहालेको रिपोर्ट आएको जानकारी दिए ।
५० प्रतिशत भोट रास्वपाको चुनाव चिह्न घन्टीमा गएको रिपोर्ट आएको जानकारी गराउँदै उनले भने, ‘फिप्टी पर्सेन्ट घण्टीमा गए भन्ने जनरल रिपोर्ट आएको छ ।
कोकोले भोट हालेनन् केन्द्रीय सदस्यमध्ये, प्रदेश सदस्य, तपाईंहरुको जनवर्गीय संगठनका नेताहरु को क्षेत्रमा गएनन्, कले भोट हालेनन्, कले घण्टीमा हाले, त्यो रिपोर्ट तपाईंहरुले दिनैपर्यो हामीलाई । तिनलाई कारबाही गर्नैपर्छ ।’
आफ्नो पार्टीलाई भोट नदिएर रास्वपालाई भोट हाल्नेहरुमाथिको कारबाहीको सुरुवात केन्द्रीय सदस्यबाटै हुने बताए । ‘नत्र भने पार्टी बनाउन सकिँदैन । तिनलाई कारबाही गरिन्छ । सबभन्दा पहिला सुरु गरिन्छ केन्द्रीय सदस्यबाट,’ प्रचण्डले भने ।
पार्टी पुनर्गठनको सुरुवात पनि यहीँबाट हुने प्रचण्डको भनाइ छ । ‘फिप्टी पर्सेन्ट घण्टीमा गए भन्ने जनरल रिपोर्ट आएको छ । हामीले भनेका छौं ठोस रिपोर्ट ल्याउनुहोस्,’ प्रचण्डले भने, ‘कोले हालेन, कोको घण्टीतिर गएको देखियो, तिनलाई हामी आँखा चिम्लेर कारबाही गर्छौं अहिले । पार्टी पुनर्गठन यहीँबाट सुरु हुने हो ।’
जेनजी आन्दोलनपछि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहित दुई दर्जन बढी कम्युनिस्ट घटक एकता गरी नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको थियो ।
सार्वजनिक कार्यक्रमहरुमा संयोजक प्रचण्डले फागुन २१ को चुनावबाट सबैभन्दा ठूलो दल बन्ने भाषण गरेका थिए । तर रास्वपाले प्रत्यक्षमा १२५ सिट जित्दा नेपाली कम्युनिस्ट पार्टी ८ सिटमा सीमित भयो । प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित हुँदा सहसंयोजक माधव कुमार नेपाल गृहजिल्ला रौतहटमै पराजित भए ।
चुनाव लगत्तै नेपाली कम्युनिस्ट पार्टीले तल्लो कमिटीमा सर्कुलर गरी चुनावको समीक्षा रिपोर्ट पठाउन भनेको छ । हाल रिपोर्ट संकलनको काम जारी रहेको केन्द्रीय कार्यालयका एक कर्मचारीले बताए । उनका अनुसार धेरैजसो रिपोर्टहरुमा आफ्नै पार्टीका संगठित नेता–कार्यकर्ताहरुबाट भोट नपाउँदा चुनावमा हार व्यहोर्नु परेको निष्कर्ष छ ।
म तपाईँहरूलाई भन्छु, यहाँ उपस्थित सबैजना जनवर्गीय सङ्गठनका नेता कमरेडहरू हुनुहुन्छ। केन्द्रीय सदस्य र प्रदेश सदस्यमध्ये को-को आफ्नो क्षेत्रमा गएनन् ? कसले भोट हालेनन् ? कसले घण्टीमा भोट हाले ? त्यसको रिपोर्ट तपाईँहरूले हामीलाई दिनैपर्छ। त्यस्तालाई कारबाही गर्नैपर्छ, नत्र भने पार्टी बनाउन सकिँदैन।
अब कारबाही गरिन्छ र त्यसको सुरुवात केन्द्रीय सदस्यहरूबाटै हुन्छ। “केन्द्रीय सदस्यहरू नै घण्टीतिर गए” भन्ने ‘जेनरल’ रिपोर्ट आएको छ। हामीले भनेका छौँ, ठोस प्रमाण ल्याउनुस्— को-को आफ्नो क्षेत्रमा गएनन् ? को-को घण्टीतिर लागेको देखियो? तिनलाई हामी आँखा चिम्लिएर कारबाही गर्छौँ। अहिले पार्टी पुनर्गठन यहीँबाट सुरु हुने हो, नयाँ पार्टी बनाउने क्रम पनि यहीँबाट सुरु हुने हो।
यो निर्वाचन परिणामपछिको सुझाव र आलोचना के छ, त्यो पनि ल्याउनुस् । हामी पार्टीको सचिवालय वा सबैभन्दा माथिल्लो आधिकारिक संस्थागत निर्णय गर्ने ठाउँमा प्रस्ताव बनाएर लान्छौँ। त्यहाँ तपाईँ-हामी सबै सहभागी हुन्छौँ।
त्यहाँ छलफल गरेर कसले भोट हाल्यो, कसले हालेन, को केन्द्रीय सदस्य निर्वाचन क्षेत्रमा गयो, को गएन भन्ने कुराको समीक्षा हुनुपर्छ। काम गर्ने र नगर्नेलाई समान ढङ्गले हेर्ने जुन प्रवृत्ति अहिले भइरहेको छ, त्यसको अन्त्य हुनुपर्छ। अरू बेलामा ‘पार्टीको हुँ’ भन्ने तर निर्वाचनको बेलामा अन्त जानेलाई पार्टीमा राख्नुभएन ।


