इनिसा हत्याका दोषीलाईकानुनी कारबाहीको माग गर्दै प्रदर्शन
सहयात्रा टिभी
काठमाडौं । चैत्र ६, सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै घटनामा संलग्न दोषीलाई कानुनी कारबाहीको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

स्वतस्फुर्त रूपमा शुक्रबार माइतीघरमा भेला भएका युवाहरूले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न कडा कानुनी व्यवस्था आवश्यक रहेको भन्दै प्रदर्शन गरेका हुन् ।
दोषीलाई छिटो न्यायको दायरामा ल्याउन, पीडितलाई न्याय दिलाउन र महिला सुरक्षाका लागि ठोस नीति तथा कार्यान्वयन सुनिश्चित गर्न सरकारलाई उनीहरूले दबाब दिएका छन् ।
छोरीहरूको सुरक्षा गरौं, इनिसा विकलाई तुरुन्त न्याय दे, अपराधीहरूलाई लुकाउन पाइँदैन, हिँसा सहिँदैन न्याय चाहिन्छ लेखिएको प्लेकार्डकासाथै ब्यानर बोकेर प्रदर्शन गरेका थिए ।
सुर्खेतको गुर्भाकोट नगरपालिका–६ घर भएकी विकको गत २३ फागुन बिहान ट्युसन पढ्न भनी घरबाट निस्किएकी उनी अबेरसम्म घर नफर्केपछि खोजी गर्ने क्रममा वीरेन्द्रनगर–४ स्थित शहीदपार्क नजिकैको सामुदायिक वनमा मृत भेटिएकी थिइन् ।
पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको देखिएपछि प्रहरीले अनुसन्धान जारी राखेको छ ।


