मातृभाषामा शपथ लिनु परेमा ३ दिन अगावै संसद् सचिवालयलाई जानकारी दिनुपर्ने

सहयात्रा टिभी

काठमाडौं । चैत्र ८, नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले मातृभाषामा समेत शपथ लिन पाउँछन् ।

यसको लागि कुन भाषामा शपथ लिने हो त्यसबारे तीन अगावै संसद् सचिवालयलाई जानकारी दिनुपर्ने प्रावधान रहेको संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ यही चैत १२ मा हुँदैछ ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूमध्ये जेष्ठ सदस्यले चैत ११ गते नै राष्ट्रपतिसँग शपथ लिन्छन् । त्यसपछि उनै जेष्ठ सदस्यले बाँकी सदस्यहरूलाई शपथ खुवाउँछन् ।

शपथ सम्बन्धी ऐन २०७९ को दफा ५ मा शपथको भाषासम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘शपथ लिँदा वा शपथ गराउँदा सरकारी कामकाजको नेपाली भाषामा गरी कामकाजक लिनु वा गराउनु पर्नेछ ।’

साथै, कुनै सार्वजनिक पदधारण गर्ने व्यक्तिले नेपालमा बोलिने आफ्नो मातृभाषामा शपथ लिन सक्ने प्रावधान पनि सँगै छ ।

सार्वजनिक पदधारण गरेको व्यक्तिले नेपाली भाषामा शपथ लिएकोमा सो शपथको दुई प्रतिमा र मातृभाषामा शपथ लिएकोमा सो मातृभाषाको शपथको समेत दुई प्रतिमा हस्ताक्षर गरी शपथ गराउने पदाधिकारी समक्ष पेश गर्नु पर्ने व्यवस्था पनि छ ।

शपथमा सांसदहरूले शपथमा पहिचान झल्किने पोशाक लगाउन पाउनेछन् । शपथसम्बन्धी ऐनको दफा ४ मा औपचारिक पोशाकमा उपस्थित हुनु पर्ने प्रावधान छ ।

जहाँ भनिएको छ, ‘सार्वजनिक पदधारण गर्ने व्यक्तिले शपथ लिँदा वा शपथ गराउँदा नेपाल सरकारले तोकेको औपचारिक पोशाकमा उपस्थित हुनु पर्नेछ ।’

सोही दफाको उपधारामा शपथ लिने वा शपथ गराउने पदाधिकारीले आफ्नो संस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषा वा पोशाक लगाई शपथ लिन वा गराउन सक्ने प्रावधान छ ।

 

प्रकाशित : 22 March, 2026

प्रतिक्रिया दिनुहोस्