श्रीमतीको हत्या गरेर कल्भर्टमुनि लुकाएको शव फेला
सहयात्रा टिभी
काठमाडौं । चैत्र ११, विराटनगर महानगरपालिका-१७ मा रहेको कल्भर्टमुनि फेला परेको शवको पहिचान खुलेको छ ।

मंगलबार साँझ कल्भर्टमुनि तन्नाले बेरिएको अवस्थामा महिलाको शव फेला परेको थियो । अनुसन्धानका क्रममा विराटनगर महानगरपालिका-१५ की कोमलकुमारी साहको शव भएको खुलेको हो ।
प्रहरीका अनुसार कोमलकुमारीका श्रीमान् रोशन साहले श्रीमती हराएको निवेदन दिएका थिए । कल्भर्टमुनि भेटिएको शव र हराएकी महिलाको हुलिया मिलेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
उनका अनुसार पत्नी हराएको निवेदन दिने रोशन साहलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
प्रहरी स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा रोशनले श्रीमतीको हत्यापछि शवलाई लुकाउन तन्नामा पोको पारेर विराटनगर–१७ स्थित छाला फ्याक्ट्रीको पश्चिममा रहेको कल्भर्टमुनि फालेका हुन् । शव भेटिएको स्थान र मृतकको घर करिब ५ किलोमिटरको दूरीमा छ ।
कोमलकुमारी चैत ६ गतेदेखि घरमा थिइनन् । श्रीमती हराएको भन्दै रोशनले दुई दिनपछि चैत ८ गते इलाका प्रहरी कार्यालय रानीमा हुलियासहितको निवेदन दिएका थिए ।
प्रहरीमा निवेदन परेको दुई दिनपछि मंगलबार बेलुका कल्भर्टमुनि तन्नाले बेरिएको अवस्थामा शव भेटियो । स्थानीयले शव भेटेपछि विराटनगर–१७ का वडाध्यक्ष समीर कमर मियाँलाई खबर गरेका थिए ।
मियाँले मंगलबार साँझ प्रहरीलाई खबर गरेका थिए । मंगलबार राति प्रहरीले शव पोष्टमार्टमका लागि कोशी अस्पताल पुर्याएर अनुसन्धान सुरु गरेको थियो ।
प्रहरीका अनुसार शव सडेको र दुर्गन्धित अवस्थामा फेला परेकाले सुरुमा पहिचान गर्न कठिन भएको थियो । तर, मानिस हराएको निवेदन अध्ययन गर्दा शवको हुलियासँग मिलेक प्रहरीको भनाइ छ ।
प्रहरी स्रोतका अनुसार घरायसी विवादका कारण रोशनले पत्नीको घाँटी थिचेर हत्या गरेको खुलेको छ । घटना लुकाउनका लागि राति शवलाई कल्भर्टमुनि फालेका थिए । डीएसपी लामिछानेले घटनाको विस्तृत अनुसन्धान भइरहेको बताए ।


