पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ
सहयात्रा टिभी
काठमाडौँ । चैत्र १४, पूर्वप्रधानमन्त्ती केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ ।

ओलीलाई उनकै भक्तपुरस्थित निवास गुण्डु र लेखकलाई उनकै निवास कटुन्जेबाट पक्राउ गरिएको हो । उनीहरु दुवै जनालाई अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ । उनीहरुको स्वास्थ्य परीक्षणको प्रक्रिया चलिरहेको छ ।
स्वास्थ्य ठिकठाक रहे प्रहरीले उनीहरुलाई हिरासतमै राख्नेछ । आज शनिबार भएकाले अदालत खुल्ने सम्भावना छैन । भोलि अदालत खुल्ने बित्तिकै पेस गरिने परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए। योसँगै ओली र लेखक दुवैले कानुनी परामर्श सुरु गरेका छन् । आलीले प्रतिशोधपूर्ण तरिकाले पक्राउ गरिएकाले कानुनी लडाईं लड्ने प्रतिक्रिया दिएका छन् । लेखकले पनि राजनीतिक र कानुनी लडाइँ लड्न तयार रहेको बताएका छन् । उनीहरुलाई पक्राउ गर्न जारी गरिएको जरुरी पक्राउ पुर्जीमा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा हेलचेक्र्याईं गरी ज्यान मारेको अभियोग छ । मुलुकी अपराध संहिताका २८१, २८२ र २८३ लाई कोट गरिएको छ । यो दफामा दफामा ‘हेलचेक्र्याईं गरी ज्यान मार्न नहुने’ भन्ने व्यवस्था छ । यसो गरेमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ । यही दफाअनुसार कारबाही गर्न गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पनि सिफारिस गरेको थियो ।
हिजो बालेन्द्र शाहको नेतृत्वमा सरकार बने लगत्तै बसेको मन्त्रिपरिषद बैठकले भदौ २३ र २४ गतेका घटनाबारे जाँचबुझ गर्न बानेको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै रातभर गृहमन्त्री सुधन गुरुङ सुरक्षा निकाय र कानुन व्यवसायीहरुसँग छलफलमा जुटेका थिए । उनीहरुलाई पक्राउ गर्न प्रहरीले सरकारको लिखित आदेश माग गरेको थियो ।
आदेश पाएसँगै जरुरी पक्राउ गरी उनीहरुलाई नियन्त्रणमा लिइएको हो । तर, प्रतिवेदनले गरेको सिफारिसकै आधारमा पक्राउ गरिएको र थप अनुसन्धान नगरिएको भन्दै सरकारको आलोचना पनि सुरु भएको छ । कतिपय कानुनका जानकारहरुले पक्राउको कानुनी आधार कमजोर भए सरकारलाई नै नैतिक रुपमा ठेस पुग्नसक्ने टिप्पणी गरेका छन् ।


