ओलीको पक्राउ विरुद्ध आज पनि एमालेले थाल्यो प्रदर्शन
सहयात्रा टिभी
काठमाडौँ । चैत्र १५, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा एमालेका जनवर्गीय संगठनहरूले आज पनि देशव्यापी रूपमा विरोध प्रदर्शन सुरु गरेका छन् ।

गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा भएको दमन र मानवीय क्षतिको विषयलाई लिएर सरकारले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएको छ । गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित छानबिन आयोगले सो घटनामा उनीहरूको ‘लापरबाही र हेलचेक्र्याइँपूर्ण व्यवहार’ देखिएको भन्दै फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेपछि शनिबार दुवै नेता पक्राउ परेका थिए ।
अध्यक्ष ओली पक्राउको विरोधमा एमाले कार्यकर्ताहरूले शनिबारदेखि नै आन्दोलन थालेका थिए । आज (आइतबार) पनि काठमाडौँको माइतीघर–बबरमहल क्षेत्रमा एमालेका जनवर्गीय संगठनहरूले ठुलो संख्यामा प्रदर्शन गरिरहेका छन् । एमालेले आज देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउने कार्यक्रम समेत तय गरेको छ ।
यसैबीच, भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ । शनिबार सार्वजनिक बिदा भएकाले उनलाई आज मात्रै म्याद थपका लागि न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा पेस गरिएको हो । लेखकलाई हाल महाराजगन्जस्थित २ नं. गणको हिरासतमा राखिएको छ ।
आफ्ना शीर्ष नेता पक्राउ परेपछि एमालेले यसलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गर्दै सडक संघर्षलाई तीव्र बनाएको छ । राजधानीका विभिन्न स्थानमा प्रदर्शनकारी र प्रहरीबीच तनावको अवस्था सिर्जना भएको छ ।


