एमालेकी लुम्बिनी प्रेदश सांसद रेखा शर्मा पक्राउ

सहयात्रा टिभी

काठमाडौँ । चैत्र १६, लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा बालश्रम र शोषणको आरोपमा पक्राउ परेकी छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार काठमाडौंको धुम्बाराहीबाट नियन्त्रणमा लिएको हो ।

शर्मामाथि एक नाबालिकालाई विगत ६ वर्षदेखि आफ्नो घरमा बन्धकजस्तै बनाएर घरेलु काममा लगाएको र शारीरिक यातना दिएको गम्भीर आरोप लागेको छ ।

काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत तर अभिभावक साथमा नभएका बालबालिकाहरूको अवस्थाबारे सर्वेक्षण गरिरहेको थियो । सोही क्रममा महानगरका प्रशिक्षार्थी विद्यार्थीहरू ती नाबालिका अध्ययनरत विद्यालयमा पुग्दा घटना बाहिर आएको हो । सर्वेक्षणका क्रममा उनले आफूमाथि भइरहेको श्रमशोषण र हिंसाको जानकारी दिएकी थिइन् ।

पीडित बालिकाका अनुसार उनलाई सांसद शर्माको परिवारले ६ वर्षदेखि घरबाहिर निस्कन र परिवारसँग भेटघाट गर्न दिएका थिएनन् । उनलाई दशैं जस्तो महान् चाडमा समेत घर जान दिइएको थिएन ।

बालिकाले बयानमा भनेकी छिन्, “मलाई घरमा पोछा लगाउने, खाना बनाउने र बिरुवामा पानी हाल्ने जस्ता काममा लगाइन्थ्यो । काममा सामान्य ढिलासुस्ती हुँदा हात र पाइपले पिट्ने गरिन्थ्यो ।”

अदालतले बालिकासँग गोप्य रूपमा गरेको कुराकानीका क्रममा पनि उनलाई यातना दिने गरिएको पुष्टि भएको थियो । बालिकाको अवस्था अत्यन्तै दयनीय देखिएपछि काठमाडौं महानगरपालिकाको कार्यदलले तत्काल उनको उद्धार गरी संरक्षण गृहमा राखेको थियो ।

महानगरपालिकाले सांसद शर्माविरुद्ध उजुरी दिए पनि सुरुमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ‘मुद्दा चलाउन नपर्ने’ राय दिएको थियो । उक्त राय सहितको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयसम्म पुगेको थियो ।

यसैबीच, छोरीको उद्धार भएको थाहा पाएपछि बालिकाका बाबुले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट समेत दायर गरेका थिए । सोही प्रकरणमा थप अनुसन्धानका लागि प्रहरीले आज शर्मालाई पक्राउ गरेको हो ।

घटनास्थलको मुचुल्का उठाउँदा महानगरको नगर प्रहरी, वडा प्रतिनिधि र नेपाल प्रहरीको सहभागिता रहेको थियो । हाल प्रहरीले यस विषयमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

प्रकाशित : 30 March, 2026

प्रतिक्रिया दिनुहोस्