काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

सहयात्रा टिभी

काठमाडौँ । चैत्र १७, काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । रिजालमाथि ‘जेनजी’ आन्दोलनमा बल प्रयोग गरेको र गृह मन्त्रालयमा रहँदा पदीय आचरण विपरीत आर्थिक अनियमितता गरेको आरोपहरू छन् ।

गत भदौ २३ र २४ गते काठमाडौंमा भएको ‘जेनजी’ आन्दोलनका क्रममा दमन गरेको अभियोग रिजालमाथि छ । सोही घटनाका कारण उनी प्रमुख जिल्ला अधिकारी नियुक्त भएको एक महिना नपुग्दै जिम्मेवारीबाट बाहिरिनु परेको थियो । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले उक्त घटनामा रिजाललाई दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो ।

यसअघि सोही आयोगको सिफारिसका आधारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक समेत पक्राउ परिसकेका छन् ।

रिजाल काठमाडौंको सीडीओ हुनुअघि गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुखका रूपमा कार्यरत थिए । तत्कालीन गृहमन्त्री रमेश लेखकको कार्यकालमा प्रशासन प्रमुख रहँदा उनले कर्मचारीहरूलाई अध्यागमन तथा अन्य आकर्षक कार्यालयहरूमा पठाउँदा ‘सेटिङ’ गरेको र पेशागत आचरण विपरीत काम गरेको आरोप लागेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बुझाएको विवरण अनुसार रिजालमाथि भ्रष्टाचारको मुद्दामा अनुसन्धान भइरहेको छ ।

अख्तियारका अनुसार तत्कालीन गृहमन्त्री लेखकका निजी सचिव बद्री तिवारी र स्वकीय सचिव जनक भट्टसँग मिलेर रिजालले कर्मचारी परिचालनमा ‘सेटिङ’ मिलाउने गरेका थिए । यस प्रकरणमा तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईको नाम समेत जोडिएको छ । बरामद गरिएको डायरी र अन्य प्रमाणका आधारमा उनीहरूमाथि पनि अस्वाभाविक गतिविधिका सम्बन्धमा अनुसन्धान भइरहेको स्रोतले जनाएको छ ।

प्रकाशित : 31 March, 2026

प्रतिक्रिया दिनुहोस्